प्रस, निजगढ, ५ मङ्सिर/
देशको राष्ट्रिय गौरवका रूपमा निजगढ नगरपालिका–४ मोहोरी बागदेवस्थित निर्माणाधीन दु्रतमार्ग पुुल आसपासबाट ढुङ्गाको चोरी तस्करी भइरहेको छ ।
चुरेको फेद हुँदै मोहोरी भएर बग्ने बकैया खोलामा दर्जनौं ट्याक्टरले दिन कानूनविपरीत ढुङ्गा उत्खनन गरिरहे पनि दु्रतमार्ग पुललगायतका संरचनाको सुुरक्षामा खटेको नेपाली सेनाले समेत नियन्त्रण नगर्दा यस्ता गिरोहको मनोबल बढेको छ । दु्रतमार्ग सडक निर्माण कार्यदल सुरक्षा बेस क्याम्प बागदेव निजगढका मेजर निराजन थापाले पटकपटक ढुङ्गा लोड ट्याक्टर नियन्त्रणमा लिए पनि आफूहरूलाई झुक्याएर ढुङ्गा चोरी गर्ने गरेको बताए । उनले यस विषयमा आफूहरूले गम्भीरतापूर्वक निगरानी बढाउने बताए ।
निर्माणाधीन द्रुतमार्ग पुलको पिलर आसपासका खोलाबाट ट्याक्टरको प्रयोग गरी ढुङ्गा चोरी तस्करी हुँदा खोलाको सतह धस्दै गएको र यसले पुललाई पनि असर गर्ने सम्भावना बढेको छ ।
संसारकै कान्छो पहाड चुुरे पर्वत शृङ्खलाको फेददेखि एक किलोमिटर दक्षिणसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने ऐन कानून छ । त्यसपछि त्यस ठाउँको प्राकृतिक अवस्था, भूबनोट अनुसार चुुरे संरक्षित क्षेत्र घोषणासमेत गरिएको छ । ऐन कानूनले निषेधित गरिएको क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गरेको पाइए त्यस्ता अवैध कार्य गर्ने गराउने व्यक्ति, प्रयोग भएका ट्याक्टर, टिपर, स्काभेटर, लोडर, डोजरलगायतका साधन नियन्त्रणमा लिई जफत गर्ने कानूनी अधिकार स्थानीय प्रहरी, प्रशासन, डिभिजन वन कार्यालय मातहतका निकायलाई छ ।