प्रस, रौतहट, ५ मङ्सिर/
प्रेस चौतारी नेपाल, रौतहट शाखाको कार्यालय उद्घाटन भएको छ । गौर नगरपालिकास्थित बिपी चोकमा नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले बुधवार शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
उनले अहिले एमालेका नेताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालहरूमा भ्रम फैलाउने कार्य भइरहेकाले सत्यतथ्य पत्ता लगाएर समाचार सम्पे्रषण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे ।
केही लाञ्छना नलागेका नेताहरूविरुद्ध भ्रमको खेती सामाजिक सञ्जालमार्फत फैलाउने कार्य गरिरहेका मानिसहरूलाई उनले कडा कारबाही हुनुपर्ने माग गरे । शाखा कार्यालय सञ्चालनमा ल्याएकोमा चौतारीका सदस्यहरूलाई उनले धन्यवाद दिए ।
केन्द्रीय सदस्य रेखा झाले उपनिर्वाचनको मुखमा एमाले नेताहरूविरुद्ध भ्रमको खेती भइरहेकाले त्यसलाई चौतारीआबद्ध पत्रकारहरूले हटाउनेतर्फ लाग्नुपर्ने सुझाइन् । एमाले लेखा समितिका केन्द्रीय सदस्य राजकिशोरप्रसाद यादवले सत्यतथ्य समाचार प्रकाशन तथा प्रसारण गर्न सुझाए ।
चौतारीका जिल्ला अध्यक्ष उत्तमकुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष सचिदानन्द साह, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश सदस्य शैलेन्द्र झा, पूर्व जिल्ला अध्यक्ष शैलेन्द्रकुमार गुप्ता, चौतारीका जिल्ला इन्चार्ज रमेश तिमल्सिना, मधेस प्रदेश महासचिव गौतम श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।