भारतको दिल्ली र पाकिस्तानका पछिल्ला घटनाले वायु प्रदूषणको गम्भीरता र यसको दीर्घकालीन प्रभावबारे सोच्न बाध्य पारेको छ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएका छन्, पाकिस्तानले प्रदूषण नियन्त्रण गर्न लकडाउन गरेको छ । यी घटनाहरू नेपालका लागि पनि चेतावनीका सङ्केत हुन् । सचेत नहुने हो भने, नेपाल पनि प्रदूषणको चपेटामा पर्ने निश्चत छ । समयमा ध्यान नदिने हो भने पछि पछुताउनुबाहेक विकल्प रहँदैन । मुलुकको राजधानी काठमाडौं उपत्यका, वायु प्रदूषणको उच्च जोखिममा रहेको छ । डब्लूएचओले तोकेको मापदण्डभन्दा अत्यधिक कण काठमाडौंको वायुमण्डलमा पाइन्छ । सवारीसाधनको धूवाँ, उद्योगहरूको अनियन्त्रित उत्सर्जन, परम्परागत इँटाभट्टा, फोहोर जलाएको धूवाँ र निर्माण गतिविधिहरूले यहाँ प्रदूषण तीव्र गतिमा बढाइरहेको छ । समस्या केवल काठमाडौं उपत्यकामा मात्र सीमित छैन । चुरे क्षेत्रमा भइरहेको उत्खनन, तराईका शहरमा औद्योगिक गतिविधि र वनजङ्गल तथा ग्रामीण क्षेत्रमा डढेलोका कारण देशमा वायु प्रदूषणलाई तीव्रता दिएको छ ।
दिल्लीमा विद्यालय बन्द गर्नु र पाकिस्तानले लकडाउन गर्नु वायुको गुणस्तर सुधारका लागि अपनाइएको आपत्कालीन उपायहरू हुन् । यस्ता आपत्कालीन उपायहरू अस्थायी मात्र हुन्छन् । पहिलो कुरा वायु प्रदूषणले सीमा नाघ्नुभन्दा पहिले नै नियन्त्रण गर्नु, दोस्रो कुरा वायु प्रदूषणले सीमा नाघेपछि त्यसलाई न्यूनीकरण गर्नका लागि दीर्घकालीन र व्यवस्थित योजना आवश्यक छ । दिल्लीको प्रदूषण मुख्यतः खेतमा पराल, छवाली जलाएर उत्सर्जित धूवाँ, उद्योग कलकारखानाबाट निस्कििएको धूलो, धूवाँ र सवारीसाधनको प्रदूषणका कारण बढेको हो । नेपालले पनि केही मात्रामा भएपनि यस्तै प्रकृतिको चुनौतीहरूको सामना गरिरहेको छ । मौसम अनुसार वनजङ्गलमा डढेलो सल्कने समयमा निस्कने धूवाँले गाउँ मात्रै नभएर शहरसमेत ढाकेको हुन्छ । बढ्दो शहरीकरणसँगै सवारीसाधनद्वारा उत्सर्जित प्रदूषण र निर्माणको क्रममा हुने वायु प्रदूषण बढ्दो छ । समयमैं ठोस कदम चाल्न नसक्ने हो भने, निकट भविष्यमा नेपालले पनि दिल्ली र पाकिस्तानको नियति भोग्नुपर्नेमा दुईमत छैन ।
नेपालले वायु प्रदूषण नियन्त्रण गर्न अविलम्ब पाइला चाल्नुपर्छ । यसको निम्ति प्रदूषण मापन र नियन्त्रण प्रणालीको विकास जरुरी छ । वायुको गुणस्तर नियमित मापन गर्न र जनतालाई जानकारी गराउन आवश्यक छ । स्वचालित वायु गुणस्तर मापन यन्त्र स्थापना गरी प्रमुख प्रदूषणका स्रोत पहिचान गर्नुपर्छ । सवारीसाधनलाई व्यवस्थित गर्नु जरुरी भइसक्यो । सवारीसाधनबाट निस्कने धूवाँलाई नियन्त्रण गर्न सख्त उपाय अपनाउनुपर्छ । सार्वजनिक यातायातको सुधार, विद्युतीय सवारीसाधनको प्रवद्र्धन र पुराना सवारीसाधनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ । यसैगरी, परम्परागत इँटाभट्टालाई आधुनिक र न्यून प्रदूषण गर्ने प्रविधिमा रूपान्तरण गर्न सरकारले प्रोत्साहन दिनुपर्छ ।
वायु प्रदूषण न्यूनीकरणको अर्को सस्तो र भरपर्दो उपाय हरियाली प्रवद्र्धन हो । वृक्षारोपणलाई प्राथमिकता दिनुपर्छ । हरियालीले वायुमण्डलका कणहरूलाई अवशोषण गरी वातावरण सफा राख्न सहयोग गर्छ । प्रदूषणका कारण र समाधानका उपायबारे व्यापक चेतना फैलाउन जरुरी छ । साथै वातावरण संरक्षणसम्बन्धी कानूनलाई प्रभावकारीरूपमा लागू गर्नुपर्छ ।