प्रमोद यादव, पंचगावाँ, ४ मङ्सिर/
पटेर्वासुगौली गाउँपालिका–२ थरगटीस्थित गादीमाई साझेदारी वन क्ष्Fेत्रमा बाघले आठवटा बाख्रा मारेको छ भने दुईवटा बाख्रा बेपत्ता पारेको छ । स्थानीय सत्यनारायण धागड र थमक महतो उराउ १० वटा बाख्रा लिएर जङ्गलमा चराउन गएकामा बाघले आक्रमण गरेको थियो ।

सत्यनारायण धागडका सातवटा बाख्रामध्ये पाँचवटा बाख्रा र थमक महतो उराउका तीनवटा बाख्रा गरी आठवटा बाख्रालाई घाँटीमा आक्रमण गरेर मारेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाले बताए । उनले सत्यनारायणको दुईवटा बाख्रा भने बाघको आक्रमणपछि हराइरहेको बताए ।

बाख्रा चराउन गएका सत्यनारायण र थमक बाख्राभन्दा अलि टाढा रहेका र बाघले बाख्रालाई आक्रमण गरेपछि उनीहरू भागेर ज्यान जोगाएका थिए । केही दिनदेखि यो क्षेत्रमा बाघले आतङ्क मचाएको छ । स्थानीयले दुईवटा बाघले जनजीवन अस्तव्यस्त बनाएको बताए ।

साँझ परेपछि घरमैं बस्ने र बिहान पनि ८ बजेपछि मात्र बाहिर निस्किरहेको बताए । तीन महीना अघि पनि यो क्षेत्रमा बाघले आतङ्क मच्चाएको थियो । आरक्षले बाघ नियन्त्रणका लागि प्रयास नगर्दा स्थानीयहरू त्रस्त हुुनुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here