प्रस, जनकपुरधाम, ४ मङ्सिर/
जनकपुरका संस्थागत विद्यालयहरूविरुद्ध जनकपुरधाममा विद्यार्थी सडकमा उत्रेका छन् । उनीहरूले मङ्गलवार विरोध प्रदर्शन गरेका छन् ।
कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग संस्थागत विद्यालयले मनोमानी शुल्क उठाउने गरेको भन्दै उनीहरू सोमवारदेखि नै आन्दोलनमा उत्रेका हुन् ।
संस्थागत विद्यालयका कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिकाले १४ कात्तिकमा गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।
आज उनीहरूले प्लेकार्डसहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । निर्णय कार्यान्वयन नगर्ने संस्थागत विद्यालयहरूको अडान छ । यसलाई लिएर हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरूपमा सोमवारदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेका छन् ।
विद्यार्थीको विरोध प्रदर्शनका कारण आज दोस्रो दिन पनि जनकपुरधामका संस्थागत शैक्षिक संस्थाहरू बन्द रहे ।
१३ भदौ २०८१ मा उपमहानगरको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णय अनुसार नै शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेकाले सो बमोजिम नै लिन पाउनुपर्ने विद्यालयहरूको माग छ ।