‘नेपाली माछा बजार सङ्कटमा’, ‘भारतीय माछाको कारण नेपाली माछा किसान चिन्तित’ यी र यस्तै समाचारहरू सुन्न र पढ्न पाइन्छन् । उक्त शीर्षकका समाचारहरूमा विशेषगरी भारतीय माछा नेपाली बजारमा सस्तो पाइएको र ग्राहक सस्तोतर्फ आकर्षित हुँदा नेपाली माछा बिक्री हुन नसकेको भन्नेछ । यसको मतलब भारतीय माछाभन्दा नेपाली माछा महँगो रहेछ । ‘नेपाली माछाले बजार पाउन भारतीय माछा आयातमा प्रतिबन्ध लगाउनुपर्छ’ भन्ने नेपाली माछा किसानहरूको माग छ । चितवन जिल्लामा ‘माछा व्यवसायी सङ्घ चितवन’ले भारतीय माछा बिक्रीमा प्रतिबन्ध लगाएको छ । बोइलर कुखुरा र अन्डामा पनि चितवनमा यस्तै भएको थियो । जिल्ला आत्मनिर्भर भएको भन्दै त्यहाँ भारतीय कुखुरा र अन्डामा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध किन ? भारतीय उत्पादन अस्वस्थकर, रोगी, बिरामी, विषादी प्रयोग गरिएका, भन्सार छलीलगायतका भन्ने जवाफ सुन्न पाइन्छ । सञ्चारमाध्यमहरूले पनि त्यही लेखिदिएको हुन्छ । मेसो र मेहरो समातेर पत्रकारिता गर्ने धेरै छन् । कसैले कुनै एउटा विषयमा अलि राम्रो सीप र कला मिसाएर लेख्यो र त्यो हाइलाइट भयो भने, हो न हो त्यसैको पछि लागेर त्यस्तै, त्यस्तै ढर्राको रिपोर्ट बनाउन सञ्चारकर्मीबीच प्रतिस्पर्धा चल्छ ।
विषादीयुक्त र भन्सार छलीका माछा बजारमा यसै पनि प्रतिबन्धित छ । बिक्रीस्थलमा बजार व्यवस्थापन समिति, वाणिज्य कार्यालय, उपभोक्ता सरोकारवाला मञ्चहरूले अनुगमन गरिरहेका हुन्छन् । सीमा क्षेत्रमा सीमा सुरक्षा बललगायत विभिन्न सुरक्षा एकाइ ठाउँठाउँमा छन् । स्थलमार्ग प्रयोग नगरी भारतीय माछा उडेर आउने पक्कै होइन । वैधानिक बाटोबाट आयात गरिंदा क्वारेन्टाइन गरेर मात्रै भिœयाउन पाइन्छ । यी वैधानिक प्रक्रियामा कडाइ गरिंदैन भने त्यो सरकारको कमजोरी हो । सम्बन्धित एकाइहरूलाई कारबाईको भागीदार बनाइनुपर्छ । उसो त नेपाली उत्पादन उपयोग गर्न पनि डरलाग्दो छ । कतिपय अवैध भारतीय माछा वा कुखुरालाई नेपाली भन्दै नेपाली उत्पादककै मिलेमतोमा बजारमा पठाइएको पाइन्छ । अर्कोतर्फ नेपाली पोखरीमा रोग लागेका माछा स्वास्थ्य परीक्षणविना नै बजारमा पु¥याइन्छ । यसो हुँदा स्वास्थ्यको प्रत्याभूति पनि खासै देखिएन । बरु वैधानिक बाटोबाट आयात गरिएको भारतीय माछा नै बढी स्वस्थ्यकर ठहरिने भयो ।
बजार प्रतिस्पर्धाको हो । निर्धारित स्वास्थ्य मापदण्डभित्र रहेको भारतीय हुन् वा नेपाली, उपभोक्तालाई सस्तोमा उपभोग्य सामग्री चाहिएको छ । उपभोक्ताको सरोकार वस्तुको गुणस्तरीयता र मूल्यसँग हुन्छ । स्वदेशी मुद्रा बाहिरिने कुरा उपभोक्ताका लागि गौण हो । सस्तोमा पाउने उही वस्तुलाई स्वदेशीको नाममा धेरै रकम तिर्न नेपाली उपभोक्ताको आर्थिकस्तरले दिंदैन । भारतदेखि नेपालमा आएर पनि नेपाली किसानले भन्दा सस्तोमा भारतीय माछा बिक्री हुन सक्छ भने नेपाली माछा उत्पादकले पनि कसरी कम मूल्यमा दिन सकिन्छ, सोच्नुप¥यो । भारत सरकारले त्यहाँको माछा किसानलाई सहुलियत दिएको छ भने नेपाली किसानले पनि आफ्नो मुलुकका तीनै तहका सरकारसँग माग राख्नुपर्छ । सरकारबाट पाउने अधिकार छाडेर उपभोक्ताको ढाड सेक्ने काम गरिनुहुन्न । वैधानिक बाटोबाट आउने भारतीय उत्पादनलाई स्वदेशमा प्रतिबन्ध होइन, स्वदेशी उत्पादनले मूल्य प्रतिस्पर्धा गर्नु उपभोक्ताको हितमा हुन्छ ।