प्रस, जनकपुरधाम, ३ मङ्सिर/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सोमवार उत्तर प्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन् ।

विश्व हिन्दू परिषद् नेपाल धनुषाले सोमवार अयोध्याधाममा तिलकोत्सव समारोह आयोजना गरेको थियो । समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रस्टका महासचिव चम्पत रायलाई निमन्त्रणपत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच पौराणिककालदेखि आर्थिक, सामाजिक, धार्मिक र रोटीबेटीको सम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । उनले विवाहपञ्चमी समारोह हर्षोल्लासका साथ मनाउन नेपाल र भारतका नागरिकले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

राममन्दिर ट्रस्टका महासचिव रायले जनकपुरधाम र अयोध्याको सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल र भारत सरकारका साथै नागरिक तहमा रहेको सम्बन्ध महŒवपूर्ण रहेको बताए । उनले विवाहपञ्चमीको महŒव बढाउन दुवै देशका सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी, श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुध्नप्रसाद सिंह, प्रदेशसभा सदस्य रूपा यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत २५१ जनाको टोली अयोध्या पुगेको थियो । यही मङ्सिर २१ गते जनकपुरधाममा रामजानकी विवाहपञ्चमी हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here