प्रस, जनकपुरधाम, ३ मङ्सिर/

जनकपुरधामस्थित संस्थागत शैक्षिक संस्थाहरू सोमवारदेखि अनिश्चितकालका लागि बन्द भएका छन् । आवासीय विद्यालयहरूको तीनवटा छाता सङ्गठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी बन्दको घोषणा गरेका हुन् ।

छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरूको शुल्कको विषयलाई लिएर संस्थागत विद्यालयका छाता सङ्गठन हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् ।

संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्तिलगायत अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी सङ्घबीच भएको सहमति तथा निर्णय फिर्ता हुनुपर्ने संस्थागत विद्यालयका छाता सङ्गठनहरूको माग छ ।

‘छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४’ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा छात्रवृत्ति दिन आफूहरू तयार रहेको तर सोविपरीतका निर्णय एवं निर्देशन मान्न आफूहरू असहमत रहेको संस्थागत विद्यालयहरूको अडान छ ।

कार्यविधि २०७४ बमोजिम सिफारिश भएका विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने विज्ञप्तिमा उल्लेख छ ।

नेविसङ्घ र उपमहानगरपालिकाबीच सहमति भएपछि उक्त सहमति निजी विद्यालयहरूमाथि जबरजस्ती लाद्न उपमहानगर पालिकाले प्रयास गरिरहेको र यस सम्बन्धमा पटकपटक पालिका नगरप्रमुखसँग कुरा गर्दासमेत नसुनेको हुँदा आफूहरू बाध्य भएर शैक्षिक संस्था बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here