गाउँमा श्यामप्रसादको निकै आदरभाव थियो । धेरैका आँखामा श्रद्धासुमन थिए । सबैलाई बराबर देख्नु र सहयोगी हात बढाउनु उनका विशेषता हुन् । उनी अपहेलित, असहाय र पीडितहरूमाथि बढी स्नेह, सम्मान र सहानुभूति राख्थे । नारी समानतालाई महŒव दिंदै भन्थे, “मृत पतिको नाममा पत्नीले आजीवन विधवा बस्नुहुन्छ भने पतिले पनि पत्नीको नाममा विधुर रहनैपर्छ ।”
सानो परिवार सुखमय जीवन बिताइरहेको थियो । छोरा–बुहारी र पाँच वर्षे नाति उनीहरूको पारिवारिक रूपरेखा मीठो तथा संस्मरणीय थियो । समाजसेवी उनी र शिक्षक छोराको आम्दानी राम्रो भएको कारण आर्थिक कठिनाइ थिएन ।
एक दिन अचानक उनको परिवारमा बज्रपात भयो । घटनाले गाउँलेहरूका नेत्रसमेत सजल बनायो । श्यामप्रसादको समाजसेवामा कठिनाइ उत्पन्न भयो ।
बुहारीको १३औं दिनको कार्य समाप्त भयो । २२औं दिनमा घरमा धूमधामले बाजा बज्यो र रत्यौली नाचियो । निम्तालुहरूले खुशीसाथ जन्तीसाथ जन्तीबाख्रो खाए । घर रौनकले तातेकै थियो । सबैको मुहारमा उत्साह र खुशीयालीको बहार थियो ।
केही समयपछि उनी पुनः दत्तचित्त भएर समाजसेवामा सामेल भए । फेरि नारी अस्मिता तथा स्वाभिमानको विषयमा उचित मौकामा मञ्चबाट आफ्नो आग्रह दोहो¥याए, “मृत पतिको…, पत्नीको नाममा विधुर रहनैपर्छ ।”