प्रस, वीरगंज, २८ कात्तिक/
सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले किशोरीहरूलाई आत्मरक्षा ताीलम प्रदान गरेर उनीहरूको आत्मबल बढाउने काम भएको बताएका छन् । वीरगंज महानगरपालिकाको आयोजना र नेपाल–भारत सहयोग मञ्चको समन्वयमा बुधवार आदर्शनगर रङ्गशालामा महानगरका १० हजार बढी किशोरीलाई आत्मरक्षा तालीमको उद्घाटन गर्दै मन्त्री यादवले विश्व कीर्तिमान बनाउने अभियानका साथै महानगरका किशोरीहरूलाई आत्मरक्षा प्रदान गर्ने कार्यमा एक दिने तालीम महŒवपूर्ण हुने दाबी गरे । उनले यस अघि किशोरीहरूले आत्मरक्षाका लागि खुर्सानीको धूलो लिएर हिंड्ने र आपत्विपत्मा सो धूलो खुर्सानी छर्केर भाग्न सफल हुने बाल्यकालको स्मरण गरे ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कात्तिक २८ गते बुधवारसम्म १५ हजार १०० किशोरीसहित महिलाहरूको आवेदन परेको र त्यसमध्ये हिजोसम्म १२ हजार ९०० को आवेदन विश्व कीर्तिमानका लागि गिनिज बूक अफ वल्र्ड रेकर्डमा दर्ता पनि गरिसकिएको जानकारी दिए । गिनिज बूक अफ वल्र्ड रेकर्डमा यस अघि भारतको आगरास्थित एक स्थानीय तहले सात हजार ४०१ जना छात्रालाई एकसाथ आत्मरक्षा तालीम दिएको उल्लेख छ । उनले आफू निर्वाचित भएकै बखतदेखि कुनै पनि छात्रालाई निर्धक्क काम गर्न सुझाएको र त्यसैको प्रतिफल आज उनीहरूलाई आत्मरक्षा तालीम आयोजना गरिएको बताए । उनले आफू रहुन्जेलसम्म कुनै पनि किशोरीले डराउनु नपर्ने बताए । उनले सरकारले प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप गर्न निर्देशन दिएको र अब उप्रान्त शुक्रवार वीरगंज महानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूले अनिवार्यरूपमा छात्राहरूलाई आत्मरक्षा तालीम आयोजना गर्नुपर्ने बताए । आजको तालीम अभ्यास हो र यसलाई विद्यालयस्तरबाट निरन्तरता प्रदान गरिएमा मात्र छात्राहरू आत्मरक्षाका लागि सक्षम हुने उनको भनाइ थियो ।
सांसद प्रभु हजराले आत्मरक्षा तालीमबाट महानगरका किशोरीहरूले लाभ लिने र भविष्यमा आइपर्ने खतराबाट मुक्ति पाउन सक्ने विश्वास व्यक्त गरे । उपप्रमुख इम्तियाज आलमले किशोरीहरूलाई लक्षित गरेर महानगरले तालीम आयोजना गरेको बताए ।
तालीम प्रदान गर्ने मार्शल आर्ट प्रशिक्षक डा चिता एजनेस सेठ्ठीले एक दिनको तालीमबाट सबै कला सिक्न नसकिने र आजको तालीमबाट किशोरीहरूको आत्मबल बढाउने काम मात्र भएको बताए । उनले किशोरीहरूमा सर्वप्रथम आत्मबल बढाउने कार्य गर्नुपर्ने र त्यो आज भएको भन्दै विद्यालयस्तरमा नियमित सिकाइ कार्य गरिनुपर्ने सुझाए ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीणाले छात्राहरूलाई आत्मरक्षा तालीम दिएर महानगरले उत्कृष्ट कार्य गरेको बताए । उनले छात्राहरूलाई यस प्रकारको तालीम निकै महŒवपूर्ण हुने दाबी गरे ।
कार्यक्रममा सांसद निर्मला देवकोटा, विना जयसवाल, प्रदेश सांसद विणा शर्मा, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद, महाराष्ट्रका राजीव ठाकुर (मास्टर थापा), सुगुन बाघ, श्रीदेवी, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सप्रउ राधेश्याम धिमाल, वडाध्यक्षहरू हीराकाजी महर्जन, बैजुलाल स्वर्णकार, रमेश यादव लगायतको सहभागिता थियो ।
कार्यक्रमको समापन नेपाल–भारत सहयोग मञ्चका उपाध्यक्ष गोपाल केडियाले गरेका थिए भने सहजीकरण उज्ज्वल घिमिरेले गरेका थिए ।
कार्यक्रममा मार्शल आर्ट प्रशिक्षक डा सेठ्ठीले छवटा समूहमा रहेका कक्षा ६ देखि १२ का छात्रा, कलेजका छात्राहरू, शिक्षक र सहभागी महिलाहरूलाई विभिन्न विद्यामा आत्मरक्षाको तालीम प्रदान गरेका थिए ।