नेपालबाट रोजगारका लागि विदेशिने युवाको सङ्ख्या डरलाग्दो छ । कुल जनसङ्ख्याको करीब अढाई प्रतिशत ऊर्जावान जनसङ्ख्या बर्सेनि बाहिरिंदै छन् । यसले निरन्तरता पाए आउँदो १० वर्षमा वर्तमान जनसङ्ख्याको २५ प्रतिशत युवाहरू बाहिरिनेछन् । आव २०८०/८१ मा यो सङ्ख्या सात लाख ४१ हजार २९७ रह्यो भने आव २०७९/८० मा सात लाख ७१ हजार ३२५ थियो । यसरी विदेशिने युवाहरूमा वार्षिक करीब डेढ लाख युवा मधेस प्रदेशका आठवटा जिल्लाका मात्रै रहेको सत्तारूढ एमालेका नेता एवं बारा जिल्लाबाट प्रतिनिधिसभाका सदस्य अच्युत मैनालीले एक सार्वजनिक कार्यक्रममा खुलासा गरेका छन् । नेपाली युवाहरू मुख्यतः तल्लो स्तरको श्रमिकका रूपमा विदेश जान्छन् ।

विदेशिनेमध्ये डेढ प्रतिशत मात्र दक्ष कामदार हुन् भने अधिकांश युवा अदक्ष छन् । दक्ष कामदारहरूको पारिश्रमिक उच्च हुन्छ, कामको वातावरण राम्रो हुन्छ र जोखिम पनि कम हुन्छ । तर अदक्ष श्रमिकहरूको अवस्था निकै कठिन छ । उनीहरूलाई कामको बेला कडा श्रम, कम पारिश्रमिक र असुरक्षित वातावरणको सामना गर्नुपर्ने हुन्छ । यसको कारक तŒव हाम्रो राज्य व्यवस्था नै हो । हाम्रो शिक्षा रोजगारमुखी छैन । शिक्षा प्रणाली र सीप विकासमा पर्याप्त सुधारको कमी छ, जसले गर्दा युवा जनशक्ति दक्ष कामदार बन्ने अवसरबाट वञ्चित छ । वैदेशिक रोजगारमा युवाको ठूलो सङ्ख्या अदक्ष कामदार रहनु एक गम्भीर चुनौती हो । त्यसैले वैदेशिक रोजगारमा जान चाहने युवालक्षित उपयुक्त सीपमूलक शिक्षा तथा सीप प्रशिक्षणको व्यवस्था सरकारले गर्नुपर्छ । त्यति मात्रै होइन, मुलुकभित्रै स्वरोजगारका अवसरहरू सृजना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ । स्वदेशी रोजगारले वैदेशिक रोजगारको निर्भरता घटाउन मदत पु¥याउँछ । यसका लागि युवा पुस्तालाई प्राविधिक शिक्षा र व्यावसायिक सीपमूलक प्रशिक्षण आवश्यक छ । यसो भएमा दक्ष कामदारहरूको सङ्ख्या बढ्नेछ । दक्षता तथा सीप हासिल गरी स्वदेशमा रोजगार सृजना भए विदेश जान परेछ भने पनि सकारात्मक असर पर्नेछ । यसका लागि सरकारले बाहिरी मुलुकहरूमा श्रमिक पठाउँदा उनीहरूलाई निर्धारित सीपको तालीम र आवश्यक प्रशिक्षण बाध्यकारी बनाउनुपर्छ । यस्ता तालीमहरू समय अनुकूल हुनुपर्छ र रोजगारदाता राष्ट्रको आवश्यकता र मापदण्डसँग मेल खाने अन्तर्राष्ट्रियस्तरको हुनुपर्छ ।

कुनै बेला नेपालको अर्थतन्त्र वैदेशिक रोजगारमा रहेका कामदारको विप्रेषणमा मात्र निर्भर थियो । अहिले पनि त्यो अवस्था केही हदसम्म कायम छ, तर यो स्थायी समाधान भने होइन । यसका लागि दिगो विकासका उपायहरूको खोजी आवश्यक छ । आजको परिस्थितिमा हामी केवल वैदेशिक रोजगारमा निर्भर रहनेभन्दा पनि स्वरोजगार र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने जरुरी देखिन्छ । यसका निम्ति सरकारसँगै नागरिक समाज र निजी क्षेत्रको समेत सहभागिता आवश्यक छ । उत्पादनका निम्ति हाम्रा युवालाई आवश्यक ज्ञान तथा सीप सिकाउँदै, हामीले हाम्रै उत्पादनमा उपयोग गर्न जोड दिने हो भने मुलुकभित्र स्वरोजगार सृजना गर्न सकिन्छ । यहाँ सिकेको सीप र क्षमता आवश्यक परे अन्तर्राष्ट्रिय श्रम बजारमा बिक्री हुन सक्छ । यसको निम्ति दूरदृष्टि र इच्छाशक्तिका साथै स्पष्ट नीति, योजना तथा कार्यक्रम हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here