प्रस, वीरगंज, २७ कात्तिक/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कात्तिक २८ गते बुधवारका दिन महानगरको आयोजनामा १० हजार किशोरीलाई आत्मरक्षा तालीम दिने तयारी पूरा भएको बताएका छन् ।

मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी उनले नेपालमैं पहिलोपटक ठूलो सङ्ख्यामा किशोरीहरूलाई लक्षित गरेर वीरगंज महानगरपालिकाले आत्मरक्षा तालीमको आयोजना गर्न लागेको बताए । उनले यो आत्मरक्षा तालीमको विश्व कीर्तिमान कायम गर्ने उद्देश्य रहे पनि मूल उद्देश्य भने महानगरका किशोरीहरूले आफ्नो रक्षा आफैं गरून् भन्ने रहेको बताए । उनले भारतको निर्भया हत्याकाण्ड र नेपालको निर्मला हत्याकाण्डको शिकार महानगरका किशोरीहरू नहोऊन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सिद्धहस्त प्रशिक्ष्Fकमार्फत आत्मरक्षा तालीम दिन लागिएको बताए ।

नगरप्रमुख सिंहले कात्तिक २८ गते एक घण्टा उद्घाटन सत्र र तीन घण्टा आत्मरक्षा तालीम वीरगंज–१० आदर्शनगर रङ्गशालामा आयोजना गरिने बताए । तालीममा सहभागी हुनको लागि तोकिएको सङ्ख्याभन्दा बढी आवेदन परेको र सामुदायिक तथा संस्थागत विद्यालयका साथै शिक्षिका र घरेलु महिलाहरू पनि तालीममा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको उनले बताए । तालीममा सहभागी हुनेहरूले ट्र्याकसुट र टिसर्ट लगाउनुपर्ने र सोको व्यवस्था आफैंले गर्नुपर्ने उनले बताए ।

छवटा समूहमा तालीम आयोजना गरिने र सोसँगै प्रत्येक समूहमा स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिएको साथै अन्य व्यवस्थापनको लागि पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र नपा कर्मचारीहरू पनि महिला नै सहभागी गराउने बताए । तालीम उद्घाटनको लागि राष्ट्रपति, प्रधानमन्त्रीलाई निमन्त्रण गरिएको तर उनीहरू कार्यव्यस्तताले आउन नसकेपछि जिल्लाकै खानेपानीमन्त्री प्रदीप यादवबाट उद्घाटन गराइने जानकारी गराए ।

तालीमका लागि आएका मार्शल आर्ट प्रशिक्षक डा चिता एजनेस सेठ्ठीले आफूले भारतीय महानायक अमिताभ बच्चनदेखि विश्वप्रसिद्ध चिनियाँ कङ्फू कलाकार ज्याकी च्याङसहित देशी–विदेशी कलाकारहरूलाई आत्मरक्षा तालीम प्रदान गरेको र नेपालमा पहिलोपटक सो तालीम दिन पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा वीरगंज महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले कक्षा ६–१२ सम्मका विद्यार्थीहरूलाई तालीममा सहभागी गराइने बताए । उनले १० हजार २६४ जनाले तालीममा सहभागी हुन आवेदन दिएका, उनीहरूको सूची गिनिज बूक अफ वल्र्ड रेकर्डमा दर्ता गराएको र सोबाहेक पनि दुई–तीन हजारको सङ्ख्यामा बढी आवेदन परेको जानकारी गराए ।

पत्रकार सम्मेलनमा नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद, उपप्रमुख इम्तियाज आलम, महाराष्ट्रका राजीव ठाकुर (मास्टर थापा), सुगुन बाघ, श्रीदेवीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण श्याम सर्राफले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here