प्रस वीरगज, २७ कात्तिक/
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले र नेपाली काङग्रेसको गठबन्धन सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको आरोप लगाएका छन् ।
तराई–मधेस राष्ट्रिय सम्मेलनको अन्तिम दिन पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले एमाले र काङ्ग्रेसका शीर्ष नेतादेखि कार्यकर्तासम्म कुनै न कुनै भ्रष्टाचार मुद्दामा आरोपित भइसकेका र उनीहरूलाई बचाउन दुवै दल एकजुट भएको बताए ।
अध्यक्ष थापाले रीतपूर्वक विद्युत् प्राधिकरणले महसूल उठाउन खोज्दा सरकारले महसूल उठाउन नदिएको कारण देशमा कति भ्रष्टाचार बढेको छ यसैबाट साबित हुने बताए । यस विषयमा विपक्षी दलहरू पनि चुप लाग्नु शङ्कास्पद भएको उनले बताए । व्यवस्था परिवर्तन भएको १८ वर्ष भइसक्दा पनि जनता झन्झन् गरीब हँुदै गएको उनले बताए । उनले मधेसमा उर्वर जमीन, बाटोघाटोको सुविधा भएपनि मधेसी जनताको भविष्यसँग खेलवाड हुँदै आएको बताए । मधेस विकासको लागि तराई–मधेस राष्ट्रिय सम्मेलनको आयोजना गरिएको उनको भनाइ थियो । यहाँको जनशक्ति विदेशमा पुगी त्यहाँको विकास गरिरहेकोले यो मुलुकको विकास कसरी हुन्छ भनी अध्यक्ष थापाले प्रश्न गरे । मिटरब्याजी, सहकारी पीडित जनता सडकमा नाराबाजी गरिरहेको बेला नेताहरू सिंहदरबारमा बसेर देशको ढुकुटी लुट्ने योजना बनाइरहेको उनको आरोप थियो ।
पत्रकार सम्मेलन वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।