प्रस, परवानीपुर, २७ कात्तिक/
धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित वडा कार्यालयमा चारवटा दलले मङ्गलवार तेस्रो दिन पनि तालाबन्दी जारी राखेका छन् ।
छठ पूजामा वडाध्यक्ष देवेन्द्र पटेलले आफ्नो टोलका मात्र १८० जना छठ बर्तालुलाई स्टीलको बाटा सहयोग गरेको र अन्य टोलका बर्तालुलाई सहयोग नगरेको आरोपमा कात्तिक २५ गते छठपछि कार्यालय खुल्ने दिन स्थानीयले तालाबन्दी गरेका थिए ।
अहिले सो तालाबन्दीले राजनीतिक रूप लिएको छ । नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र जनमत पार्टीले वडाध्यक्षले गरेको आर्थिक अनियमितताविरुद्ध तालाबन्दी भएको भन्दै तीन वर्षको आर्थिक हिसाबकिताब प्रस्तुत नगरेसम्म तालाबन्दी नखोल्ने जनाएका छन् । एमालेका स्थानीय नेता अम्बिका राउत कुर्मीले सो वडाको वार्षिक सवा करोड बजेट रहेको र अहिलेसम्म वडाध्यक्षले मनोमानी गर्दै आएको आरोप लगाए । माओवादी केन्द्रका सन्तोष पटेलले आर्थिक पारदर्शिता कायम नभएसम्म ताला नखोलिने बताए ।