नेपालको राष्ट्रिय परीक्षा बोर्ड शिक्षामा उत्कृष्टता र पारदर्शिताको प्रतीक हुनुपर्ने संस्था हो । आफ्नै लापरवाहीले यो संस्थामाथि प्रश्नचिह्न खडा भएको छ । हरेक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) तथा कक्षा ११ र १२ का नतीजाहरूमा अनियमितता र त्रुटि फेला पर्ने गरेका छन् । पुनर्योगमा जाँदा अधिकांश विद्यार्थीका अङ्कमा महŒवपूर्ण अन्तर देखिने गरेको पाइन्छ । हालैको एक घटना हो, खोटाङ जिल्लाको कोपिलागढीका एक छात्रको उत्तरपुस्तिका केरमेट गरेर अनुत्र्तीण गराइएको, यो बोर्डको लापरवाहीको जीवित प्रमाण हो । यस प्रकारको लापरवाहीले बोर्डले आफ्नो मात्र गरिमा गुमाएको छैन, यसले सयौं विद्यार्थीको भविष्यमा गम्भीर असर पु¥याइरहेको छ । विद्यार्थी जीवनका यी महŒवपूर्ण परीक्षाहरूको आधारमा उनीहरूको भविष्यको योजना निर्धारण हुन्छ । यस्तो अवस्थामा परीक्षा बोर्ड जस्तो जिम्मेवार संस्था चुक्नु विद्यार्थीहरूमाथिको अन्याय हो । यस किसिमको लापरवाहीले सामाजिकस्तरमा बोर्डप्रतिको विश्वास घटाउँछ भने शैक्षिक व्यवस्थामाथि नै प्रश्नचिह्न खडा गर्छ । विद्यालय र विश्वविद्यालय शिक्षाको स्तम्भमा बसेर भविष्य निर्माण गरिरहेका लाखौं विद्यार्थीको करियरलाई असुरक्षित बनाउने यो प्रवृत्ति तुरुन्तै सम्बोधन गर्नुपर्ने अपरिहार्यता देखिएको छ ।

बोर्डको कमीकमजोरी तथा लापरवाही हुनुमा मुख्यतः दक्ष जनशक्तिको कमी, सही प्रशिक्षणको अभाव, उत्तरपुस्तिका परीक्षण प्रक्रियामा आधुनिक प्रविधिको उपयोगमा कमीलगायत हुन् । त्यसैगरी, बोर्डका कर्मचारीहरूमा जिम्मेवारी बोध नहुनु, समयमैं उत्तरपुस्तिका परीक्षण गर्ने प्रबन्ध नहुनु तथा उत्तरपुस्तिका जाँच प्रक्रियामा स्पष्टता नहुनु प्रमुख समस्या हुन् । नेपाल सरकारको शिक्षा मन्त्रालयले पनि बोर्डको अनुगमन र पुनरावलोकनमा ध्यान नदिएको कुरा बोर्डको लापरवाहीले पुष्टि गरेको छ । एकातिर उत्तरपुस्तिका परीक्षणमा खटेका कर्मचारीको उचित निरीक्षण एवं निगरानी तथा दण्डको व्यवस्था नहुँदा उनीहरूले चुक्ने छुट पाएका छन् । अर्कोतिर विद्यार्थीहरूको आवेदनको गम्भीरतालाई पनि हल्कारूपमा लिइएको प्रतीत हुन्छ । यसका साथै आधुनिक प्रविधि र डेटा प्रविधिको न्यूनतम प्रयोगसमेत हुन नसकेको कुरा प्रणाली अद्यावधिक गर्ने प्रक्रियाको सुस्तताबाट छर्लङ्ग हुन्छ ।

परीक्षा बोर्डलाई जिम्मेवार, पारदर्शी र विश्वसनीय बनाउन सख्त सुधारको खाँचो देखिन्छ । पहिलो, उत्तरपुस्तिका परीक्षणमा विज्ञ र जिम्मेवार निरीक्षकहरूको मात्रै संलग्नता रहने र उनीहरूलाई अनिवार्यरूपमा नियमित प्रशिक्षण हुनुपर्छ । उचित तालीमप्राप्त व्यक्तिहरू मात्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिनुपर्छ । दोस्रो, उत्तरपुस्तिका परीक्षण प्रक्रियामा त्रुटि कम गर्न आधुनिक प्रविधि अपनाउन आवश्यक छ । उत्तरपुस्तिका स्क्यान गरी डिजिटलरूपमा सुरक्षित राख्ने प्रविधि तथा अङ्क गणना प्रणालीलाई अटोमेटेड बनाउनाले त्रुटिको सम्भावना न्यूनीकरण गर्न सकिन्छ । साथै, विद्यार्थीहरूलाई पुनर्योगको प्रक्रिया सहज गरिदिनु पर्छ । उनीहरूले निश्चित शुल्क तिरेपछि अनलाइनमार्फत नै पुनर्योगको आवेदन दिन पाउनुपर्छ । उत्तरपुस्तिका डिजिटल पोर्टलमार्फत सुलभ गराउने र पुनर्योग परिणामका लागि समय अनिश्चित नगरी सुनिश्चित गराउनुपर्छ । सङ्घीय सरकारले परीक्षा बोर्ड र यसको कामलाई विशेष प्राथमिकतामा राखी अनुसन्धान, अनुगमन, निरीक्षण, सिंहावलोकन र सुधारको पहल गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here