प्रस, सप्तरी, २६ कात्तिक/
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले तलबभत्ता नपाएको हुँदा आन्दोलित भएका हुन् ।
आन्दोलित शिक्षक, कर्मचारीले तलबभत्ताको माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले कार्यालयको मूल गेटमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
सो पालिकाका शिक्षक, कर्मचारीले तीन महीनादेखि तलबभत्ता पाएका छैनन् । चालू आर्थिक वर्ष २०८१/८२ को साउन महीनादेखि अहिलेसम्म तलबभत्ता उपलब्ध नगराएको आन्दोलित शिक्षक, कर्मचारीहरूले सोमवार सञ्चारकर्मीहरूलाई जानकारी गराए ।
आन्दोलन परिचालन समितिको अगुवाइमा क्रमशः आन्दोलनका कार्यक्रम अगाडि बढाइएको छ । आइतवार सम्पूर्ण शिक्षक, कर्मचारीले कार्यालयमा धर्नासमेत दिनुका साथै तालाबन्दी गरेका थिए । आन्दोलन गर्नुपर्ने कारणबारे सोमवार सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै थप सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । दशैं, तिहार र छठ जस्ता ठूला पर्वमा समेत तलबभत्ता नपाउँदा आफ्नो घरपरिवारमा परेको समस्या र मानसिक तनावबारे आन्दोलित शिक्षक, कर्मचारीहरूले दुःखेसो पोखेका थिए ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाको नगरसभा अझै हुन सकेको छैन । नगरसभा नभएको हुँदा पालिकाको आर्थिक कारोबार ठप्प छ ।