प्रस, जनकपुरधाम, २६ कात्तिक/
जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी सङ्घबीच कक्षा ११ र १२ का विद्यार्थीहरूको छात्रवृत्तिसम्बन्धी भएको सम्झौता षड्यन्त्रपूर्ण रहेको निजी विद्यालय सङ्गठनहरूको आरोप छ ।

निजी विद्यालयका सङ्गठनहरू प्याब्सन, एनप्याब्सन तथा हिसानले सोमवार संयुक्तरूपमा पत्रकार सम्मेलन आयोजना गरी सो आरोप लगाएका हुन् । ‘कुनै दलको भ्रातृ सङ्गठनको दबाबमा उपमहानगरले छात्रवृत्तिसम्बन्धी गरेको निर्णयमा षड्यन्त्रको गन्ध छ’ भन्ने उनीहरू आरोप छ ।
निजी विद्यालयका सङ्गठनहरूले जनकपुरधाम उपमहानगरले पुरानै निर्णय अनुसार शुल्क निर्धारण नगरे आफूहरू आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाका एकाइ अध्यक्ष दीपककुमार ठाकुरले आफूहरूको माग बेवास्ता गरिए सह्य नहुने बताए ।

सम्पूर्ण निजी विद्यालय अनिश्चितकालका लागि ठप्प पारेर आन्दोलनमा उत्रने उनले चेतावनी दिएका छन् । यसैगरी, हिसानका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जनकपुरधामको शैक्षिक संस्था तथा शैक्षिक स्तरलाई कमजोर पार्न उपमहानगर र नेविसङ्घबीच सम्झौता भएको आरोप लगाउँदै उक्त सम्झौता आफूहरूले नमान्ने बताए ।

नेविसङ्घले चलाएको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान अन्तर्गत विद्यार्थी शुल्कबारे जनकपुरधाम उपमहानगरपालिका र नेविसङ्घबीच सहमति भएको थियो । उक्त सहमतिमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि नामाङ्कन, मासिक शुल्क र छात्रवृत्ति सम्बन्धमा सहुलियतपूर्ण निर्णयहरू भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here