प्रस, वीरगंज, २६ कात्तिक/
अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन बोर्डका अध्यक्ष महाश्रम शर्मालाई सोमवार ध्यानाकर्षणपत्र बुझाएको छ ।

बोर्डका उत्तरपुस्तिका निरीक्षकले उत्तरपुस्तिका जाँचमा लापरवाही गरेको भन्दै अनेरास्ववियुले अध्यक्ष शर्माको ध्यानाकर्षण गराएको हो । खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजूरी दिएको र उजूरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेपछि अनेरास्ववियुले सो विषयमा चासो राखेको हो । अनेरास्ववियुले सो घटनामा संलग्न दोषीलाई कारबाई गर्न पनि माग गरेको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतीजा हेर्दा पुनर्याेगको लागि निवेदन दिने १८,६१२ जना विद्यार्थीमध्ये ८४८ जना विद्यार्थीको नतीजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ ।

तीमध्ये २०० जना विद्यार्थीले कापी हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेको सङ्गठनले जनाएको छ । विज्ञले फकाएर कापी पुनः परीक्षण नगर्न दबाब दिंदादिंदै १६ जना विद्यार्थीले कापी पुनर्परीक्षणको लागि निवेदन दिएकामा १० जनाको नतीजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तरपुस्तिका पुनर्परीक्षण गर्दा ६२.५५ प्रतिशत विद्यार्थीको नतीजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ ।

यो तथ्याङ्कले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाहरू कति गैरजिम्मेवार छन् र विद्यार्थीहरूको भविष्यसँग कसरी खेलवाड गरिरहेका छन् भन्ने प्रस्ट भएको अनेरास्ववियुले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षणपत्र बुझाउँदै अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट पनि प्रभावकारी नरहेकोले वेबसाइट प्रभावकारी बनाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here