प्रस, महोत्तरी, १३ कात्तिक/
छठ पर्व नजीकिंदै गर्दा महोत्तरीका डोम समुदाय बेत, बाँसका भाँडाकुँडा बनाउन व्यस्त छन् । छठ पर्वमा बाँसका डोको र डालो जस्ता सामग्रीको माग उच्च रहने भएकाले यहाँका डोम समुदायलाई यति बेला कामको चटारो छ ।
जलेश्वर नगरपालिका–३ का महेश्वर डोमका अनुसार गाँस, बास र कपासका लागि बाँसका भाँडाकुँडा बनाउने परम्परा पुर्खादेखि नै सीप हस्तान्तरण हुँदै आएको हो । छठ पर्वको लागि बाँसका सामग्री विशेष माग हुने भएकाले कात्तिक महीनामा बाँसको कामले राम्रो आम्दानी गर्ने अवसर जुर्छ ।
जिल्लाका जलेश्वर, मटिहानी, पिपरा, औरही, गौशाला, सम्सी, सोनमा, रामगोपालपुर, एकडारा र मनरालगायतका स्थानमा बसोबास गर्ने डोम समुदाय छठ पर्वका लागि बाँस र बेतबाट डालो, नाङ्लो, डालेलगायतका सामग्री बनाउने काममा व्यस्त छन् ।
मनरासिस्वा नगरपालिका–२ की ७० वर्षीया बेचनी डोमिनले भनिन्, “कात्तिक लाग्नेबित्तिकै बिहानदेखि बेलुकासम्म काममा व्यस्त छौं । काम गर्दा जति नै व्यस्त र चटारो परे पनि छठमा त्यही सामग्री बेचेर राम्रो आम्दानी भएपछि सबै दुःख बिर्सिन्छौं, खुशीको माहौल बन्छ ।”
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठीमाता र सूर्यदेवलाई बाँस र बेतबाट बनेका डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले व्रत बस्ने प्रत्येक परिवारमा पाँचदेखि सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्ने हुन्छ ।
छठको आगमनसँगै डोम समुदायका घरआँगनमा छठीमाता र सूर्यदेवको उपस्थिति रहने जनविश्वास छ । पिपरा–२ का राजीव डोमका अनुसार कतिपय व्रतालुले तयारी सामग्री खरीद गरेर लान्छन् भने कतिपयले अग्रिम अर्डर दिने गरेका छन् । अग्रिम अर्डर दिनेहरूको समयमा काम सकाएर दिनै पर्ने हुँदा कामको निकै दबाब पर्ने उनले बताए ।
सम्सी गाउँपालिका–३ का मनोज डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिक महीनामा आम्दानी गरेर वर्षभरिको खर्च जोहो गर्ने बताए । सोनमा गाउँपालिका–३ का विजय डोमले जानकारी दिए अनुसार बालकदेखि वृद्धवृद्धासम्म बाँसको काममा लागेका छन् । हरेक छठ पर्वमा उनीहरूले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति २० हजारदेखि २५ हजार रुपैयाँसम्म र प्रत्येक परिवारले एक लाख रुपैयाँसम्म आम्दानी गर्छन् । छठ पर्व मनाउनेको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै आएको बाँसका सामग्री बनाउने डोम समुदायको ठहर छ । हरेक वर्ष सामग्रीको माग बढ्दै जानु र कामदारको आम्दानी पनि बढ्दै जानु यसको प्रमाण रहेको उनीहरूको भनाइ छ ।