नरेश यादव, पर्सागढी, १२ कात्तिक/
जाडोयाम शुरू भएसँगै माछाको मूल्य र माग बढेको छ । छठपछि माछाको माग तीव्र हुने पर्सागढी नगरपालिकाका माछापालक पूmलमहम्मद मियाँले बताए ।

अहिले पोखरीमा माछाको मूल्य प्रतिकिलो १६०–२५० सम्म छ भने छठपछि माछाको मूल्य दोब्बरी हुने अनुमान गरिएको छ । जाडोयाममा तौल अनुसार प्रतिकिलो रु ३०० देखि ६०० सम्ममा माछा बिक्री हुने गर्छ । गर्मीयाममा भने माछाको मूल्य घट्छ । अहिले जाडोयाम शुरू भएसँगै माछा मार्ने माझीहरूको खोजीकार्य शुरू भएको र माछा मार्ने समय निर्धारण गरिन्छ ।

स्थानीय मलहा अजय सहनीले जाडोयाममा सानो पोखरीको माछा मार्ने ठेक्का नलिने गरेको तर ठूलो पोखरीको ठेक्का सकार गर्ने गरेको बताए । जाडोयाममा दिन सानो हुने र दैनिक एकदेखि दुईवटा पोखरीको मात्र माछा मार्न सक्ने हुँदा सोही अनुसारको मिति र समय दिने गरेको बताए । उनले जाडोयाममा आठदेखि १२ प्रतिशतसम्म पोखरीको माछा मार्ने सम्झौता हुने गरेको बताए । आम्दानीको आठदेखि १२ प्रतिशतसम्म माझीहरूले लिने र बाँकी साहुले बुझ्ने गर्छ ।

पर्सा र बाराका माझीहरू अहिले पोखरीको ठेक्का लिने काममा व्यस्त छन् । मधेसमा अहिले माछाको माग कम छ तर छठ तथा कात्तिक स्नानपति माछामासु खान शुरू भएपछि माछाको माग अत्यधिक हुने गर्छ । जाडोयाममा माछाको माग बढी हुने हुँदा सोही अनुसारको तयारी भइरहेको माझी सहनी बताउँछन् ।

पर्सा जिल्लामा ५७१.०६ हेक्टर क्षेत्रफलमा जलाशय छ, यसमध्ये वार्षिक ४२९.२९ हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको कृषि ज्ञान केन्द्र, पर्साले जनाएको छ । सो क्षेत्रफलमा गरिने माछापालनबाट वार्षिक ३१४४.३५ मेट्रिकटन माछा उत्पादन हुने गरेको सो कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here