विज्ञान र प्रविधिको विकासले मानवजीवनका हरेक क्षेत्रमा क्रान्ति ल्याएको छ । यो क्रम तीव्र गतिमा छ । आजभन्दा चार वर्ष पहिले कोरोना महामारीको बेला मुलुकको प्रधानमन्त्री केपी ओली नै थिए । त्यति बेला कोरोनाका कारण उनले सातवटै प्रदेशका मुख्मन्त्रीहरूसँग जूम बैठक गरे । जूम बैठकको कुरा मुलुकमा नौलो प्रयोग थियो । के के न भएजस्तो सो बैठकलाई लिएर पक्ष, विपक्षमा खूबै तर्क–वितर्कहरू चले । समय धेरै टाढा गएको छैन । आज जूम बैठक त बच्चाबच्चीले खेल्ने खेल भइसक्यो । विज्ञान प्रविधि अहिले एआईको स्वरूपमा केन्द्रित छ । एआईको विकाससँगै यसका सकारात्मक र नकारात्मक पक्ष पनि छन् । एआईले मानवजीवनलाई सहज, छिटो र लाभदायक बनाउने कार्यलाई सशक्त बनाएको छ । कतिपयले यसलाई मानव सभ्यताकै अर्को ठूलो प्रगति मान्छन् भने कतिपयले यसको सान्दर्भिकता र दीर्घकालीन प्रभावप्रति चिन्ता जाहेर गरेका छन् ।

एआईले विभिन्न कार्यहरूलाई छिटो र सहज बनाउनु सकारात्मक पक्ष हो । स्वास्थ्य, शिक्षा, उद्योग, यातायात लगायतका क्षेत्रमा यसको व्यापक प्रयोगले मानवको दैनिकीमा एक नयाँ अध्याय थपेको छ । उदाहरणका लागि, स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगले रोगको पहिचान, उपचार र अनुगमनलाई तीव्रता दिएको छ । चिकित्सकीय दक्षता एवं सेवा अभावले समयमा रोग पहिचान नभएका र उपचार नपाएका बिरामीहरूलाई पनि एआईले अनलाइन सेवामार्फत सुविधा दिन थालेका् छ । यसले सेवाग्राहीको समय, धन र ज्यान बच्ने गरेको छ । त्यसैगरी, शिक्षामा एआईले व्यक्तिगत अध्ययन योजना निर्माणमा ठूलो योगदान पु¥याइरहेको छ । विभिन्न अनलाइन प्लेटफर्महरूले विद्यार्थीहरूको क्षमता, रुचि र आवश्यकता अनुसार सामग्रीको सुझाव दिन सक्ने क्षमताले शिक्षामा ठूलो परिवर्तन ल्याएको छ । यसले दूरदराजका विद्यार्थीहरू पनि गुणस्तरीय शिक्षामा पहुँच राख्न सक्षम भएका छन् । व्यवसायमा पनि एआईको प्रयोगले उत्पादनशक्ति बढाउनमा ठूलो सहयोग छ । उत्पादन कार्यमा यान्त्रिकताको प्रयोगले कामदारहरूको बोझ घटाएर कार्यसम्पादनमा गति थपेको छ । यस्तै, वित्तीय क्षेत्रमा एआई प्रविधिले जोखिम व्यवस्थापन र ग्राहक सेवा क्षेत्रलाई सुधार गरेको छ ।

सहज तथा सकारात्मकसँगै एआईले केही गम्भीर चुनौतीहरू पनि निम्त्याएका छन् । अत्याधुनिक एआईले मेशीनलाई मानवीय क्षमताभन्दा कुशल बनाउँदै जाँदा मानव श्रमिकहरू ठूलो सङ्ख्यामा बेरोजगार हुँदैछन् । विशिष्ट सीप नभएका कामदारहरूले रोजगार पाउन नसक्ने स्थिति आउन सक्छ ।

एआईको अर्को चुनौती भनेको गोपनीयता र डेटा सुरक्षाको हो । एआईले काम गर्न ठूलो परिमाणमा डेटा सङ्कलन गर्छ, जसमा प्रयोगकर्ताको व्यक्तिगत जानकारी पनि समावेश हुन्छ । संवेदनशील जानकारीहरू दुरुपयोग हुन सक्ने जोखिम रहन्छ । आफ्नो लाभको लागि प्रयोगकर्ताको डेटा अनधिकृतरूपमा अरूले प्रयोग गर्न सक्छन् । जसले व्यक्तिको व्यक्तिगत जीवनलाई जोखिममा पार्न सक्छ । कुनै समस्यामा एआईले आफ्नो प्रणाली अनुसार स्वतः निर्णय लिने हुँदा त्यस्तो निर्णय सामाजिक वा नैतिकरूपमा सान्दर्भिक नहुन पनि सक्छ । मेशिनरी निर्णयले मानवीय संवेदनाका परिधि टुट्न पनि सक्छ । यसर्थ विज्ञान प्रविधिलाई कतिसम्म प्रयोग गर्ने र कसरी नियन्त्रणमा राख्ने भन्नेमा मानव समाज स्पष्ट हुनुपर्छ । मानवीय संवेदनाविनाको विज्ञानलाई सही प्रयोग गर्न नसके विध्वंश निम्तिन पनि सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here