धर्मेन्द्र चौरसिया, पोखरिया, १० कात्तिक/
यातायात व्यवस्था कार्यालय, वीरगंजको ट्रायल परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले अङ्कुश लगाएको छ । शनिवार भएको ट्रायल परीक्षाको नतीजा अख्तियारको टोलीले लिएर गएको छ । लिखित परीक्षामा शुक्रवार एक हजार २०६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए र उनीहरूको आज ट्रायल लिइएको थियो । ट्रायलमा विधिसम्मत २५३ जना मात्र उत्तीर्ण भएका र सो सूची अख्तियारको टोलीले लिएर गएको स्रोतले जनाएको छ । आज ट्रायल अवधिभर अख्तियारको टोली ट्रायल सेन्टरमा बसेको थियो र उत्तीर्ण भएकाहरूको सूची लिएर गएको छ ।

वीरगंजमा भदौ १४ गतेदेखि सवारी चालक अनुमतिपत्रको काम प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको लिखित पत्रका आधारमा बन्द गरिएको थियो । अहिले प्रदेशका सातवटा जिल्लामा सवारी चालक अनुमतिपत्र वितरण भइरहेको छ । मन्त्रीले भदौ १४ मा सवारी चालक अनुमतिपत्रका सबै कार्य रोक्का गर्दै तत्कालीन कार्यालय प्रमुख कमल गौतमलाई सरुवा गरेर धर्मेन्द्रलाल कर्णलाई वीरगंज पठाएपछि कात्तिक ९ गतेदेखि नयाँ सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा भएको थियो ।

यातायात व्यवस्था कार्यालय, पर्सामा तीन महीना अवधिमा तीनजना प्रमुखको सरुवा भइसकेको छ । गौतम अघि उमेश रेग्मी कार्यालय प्रमुख थिए । सवारी चालक अनुमतिपत्र वितरणमा मधेस प्रदेशका कार्यालयहरूमा व्यापक अनियमितता हुने गरेको आरोप लाग्दै आएको छ तर अख्तियारको ध्यान सबैमा पुग्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here