प्रस, सिम्रौनगढ, १० कात्तिक/
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा शनिवार सिम्रौनगढमा विरोध प्रदर्शन भएको छ । रास्वपा बारा क्षेत्र नं १ का अध्यक्ष रजनीश कुशवाहाको नेतृत्वमा सिम्रौनगढ बसपार्कबाट निस्केको विरोध जुलुस नगरपरिक्रमा गरी सोही स्थानमा आएर कोणसभा गरी समापन भएको थियो ।
विरोध जुलुसमा सहभागीहरूले रास्वपा जिन्दाबाद, भ्रष्ट सरकार चाहिंदैन, सहकारीपीडितलाई न्याय देउ, राजनीतिक प्रतिशोध बन्द गर जस्ता नारा लगाएका थिए ।
कोणसभामा जिल्ला सभापति चन्दन सर्राफ, भोला साह कानू, सुरेन्द्र शर्मा, रजनीश कुशवाहा, कञ्चन पासवान, साहेब अन्सारी, श्रीचन्द्र चौधरीलगायतले सहकारीपीडितलाई न्याय दिने बहानामा पार्टी अध्यक्ष लामिछानेसँग राजनीतिक प्रतिशोध साँध्ने काम भएको आरोप लगाए ।
उनीहरूले अहिलेसम्म सहकारीपीडितहरूलाई न्याय दिलाउन नसकेको सरकारले संसद्बाट गठित छानबीन समितिले निर्दाेष साबित गरेपछि अनेक प्रपञ्च रचेर अदालतमार्फत गिरफ्तारी गराइएको आरोप लगाए । उनीहरूले सरकारविरुद्धको यो कदमको खुलेर विरोध गर्न र लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउन सबैमा अपील पनि गरे ।