नरेश यादव, पर्सागढी, १० कात्तिक/
‘सहकारी सुशासन प्रविधि र एकीकरण’ नाराका साथ शनिवार पर्सागढी नगरपालिका–४ सबैयाटाँडीस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाकी अध्यक्ष गोमा उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रतिमा मानन्धरले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य श्याम पटेलले अहिले देशभरिका सहकारीहरूको अवस्था दयनीय रहेको बताए । उनले बचतसँगै लगानीमा विशेष ध्यान नदिंदा सहकारीमा समस्या आएको बताए । सहकारीकाआफ्ना शेयरधनीबीचमा लगानी सुरक्षित हुने, सहकारीको उद्देश्य पूरा हुने तथा लगानी अनुसारको प्रतिफल आउने क्षेत्रमा मापदण्ड अनुसार लगानी गर्ने सहकारीहरू राम्ररी सञ्चालनमा रहेको उनले बताए । सहकारीमा सर्वसाधारण मानिस जोडिएका र उनीहरूले यसबाट प्रतिफल पनि पाएको भन्दै सहयात्रीले पर्सामैं उत्कृष्टता हासिल गरेको बताए । उनले अहिलेको अवस्थामा लगानी सुरक्षित गरी बचतकर्ताको मनोबल बढाउन आवश्यक रहेको बताए । उनले सहकारीमा व्यक्तिविशेषको हालीमुहाली चल्दा समस्या आएकोले सबैको सहकार्यमा सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
संस्थापक अध्यक्ष वीरेन्द्रराज कँडेलले शुरूमा संस्थालाई राम्ररी सञ्चालन गर्नेहरूले पछि बिगार्न खोजेको तर उनीहरूलाई सचेत गराएपछि संस्था प्रगतिपथमा गइरहेको बताए ।
कार्यक्रममा वडाध्यक्ष शेख खुर्सेद, पूर्ववडाध्यक्ष समसुद्दीन शाह देवान, वेदमनदास थारू, विन्ध्यवासिनी कोइलाभार वन उपभोक्ता समितिका अध्यक्ष महमद रिजवान, नेपाल रेडक्रस सोसाइटी उपशाखा प्रमुख महमद जिक्रुल्लाह, संस्थाका लेखापाल सञ्जय परियार लगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत चेतकुमारी तिमिल्सिना र सहजीकरण सचिव शिवनाथ यादवले गरेका थिए ।