प्रस, जीतपुर, ८ कात्तिक/
आन्तरिक राजस्व कार्यालय, सिमराको राजस्व सङ्कलन लक्ष्य असफल भएको छ । कार्यालयले साउनदेखि असोजसम्मको अवधिमा रु तीन अर्ब ९९ करोड ४९ लाख ६४ हजार लक्ष्य राखेको थियो, तर यसमध्ये ७९.२८ प्रतिशत मात्रै सङ्कलन भएको प्रमुख कर अधिकृत दिनेश पाण्डेले बताए । उनले अहिले चुनौतीपूर्ण अवस्था रहेको बताउँदै यसको असर राजस्व सङ्कलनमा पनि परेको बताए ।
यस अवधिमा आयकरबाट मात्र ६६.५६ प्रतिशत राजस्व सङ्कलन भएको बताए । भाडा आयकरबाट १३.६८ प्रतिशत मात्रै कर सङ्कलन भएको छ । यद्यपि आन्तरिक मूल्य अभिवृद्धि कर १०२.८१ प्रतिशत सङ्कलन गरेको छ, जसले केही राहत दिएको छ । स्वास्थ्य सेवा करबाट भने ६६.१४ प्रतिशत राजस्व सङ्कलन भएको छ, जुन अपेक्षाभन्दा कम हो ।
सूर्य नेपाल, नेपालकै सबैभन्दा ठूलो करदाता रहेकोमा यसपालि सूर्य नेपालको उत्पादन र खपतमा गिरावटका कारण अपेक्षित योगदान गर्न नसकेको उनले बताए । सूर्य नेपालले कुल राजस्वको ८० प्रतिशत योगदान गरे पनि खपत कम भएका कारण आन्तरिक राजस्व कार्यालय सिमराले लक्ष्य पूरा गर्न नसकेको प्रमुख कर अधिकृत पाण्डेले बताए ।
बारा जिल्लाका करदाताहरूले सिमरा कार्यालयमा कर बुझाउने गर्छन् साथै रौतहट जिल्लामा आन्तरिक राजस्व कार्यालय नभएकोले त्यहाँका करदाताहरूले पनि सिमरामा कर बुझाउनुपर्ने हुँदा त्यस भेगका करदाताहरूको सेवासुविधालाई ध्यानमा राखी रौतहट जिल्लाको चन्द्रपुर र गौरमा आन्तरिक राजस्व कार्यालय, सिमराले सेवा केन्द्र स्थापना गरी निरन्तर करदाताहरूलाई सहयोग गर्दै आएको प्रमुख कर अधिकृत पाण्डेले बताए ।
आन्तरिक राजस्व कार्यालय सिमराले करदाताहरूलाई सेन्ट्रल बिलिङ म्यानेजमेन्टमा समावेश गराउन १० जना नयाँ करदातालाई प्रेरित गरेको छ भने २३ जना करदाताले कम्प्युटर बिलिङ प्रणालीको अनुमति प्राप्त गरेका छन् । यसले कर सङ्कलन प्रणालीलाई पारदर्शी र आधुनिक बनाउन मदत पु¥याउने अपेक्षा गरिएको उनले बताए ।
प्रमुख कर अधिकृत पाण्डेले करदाताहरूलाई समयमैं कर तिर्न प्रोत्साहन गर्न र राजस्व सङ्कलनको स्तरलाई सुधार गर्न विभिन्न अभियानहरू अघि बढाउने योजना बनाइएको बनाए ।