गाँस, बास र कपास मानिसका न्यूनतम आधारभूत आवश्यकता हुन् । यसमा शिक्षा, स्वास्थ्य र सुरक्षासमेतलाई जोड्ने हो भने आधारभूत आवश्यकता भन्न सकिन्छ । नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी राज्यको हो । राज्य कङ्गाल छ र राज्यको तर्फबाट नागरिकको आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन भने दायित्व बाँडफाँड गरेर भएपनि प्रबन्ध मिलाउने काम राज्यको हो । आवश्यकता पूरा गर्ने केही दायित्व राज्यमाथि, केही नागरिकको व्यक्तिगत प्रयास र केही भने उसको समाज तथा परिवारको तर्फबाट पूरा गरिनुपर्छ । यसको निम्ति दायित्व बाँडफाँडको बाध्यकारी कानूनी व्यवस्था हुनुपर्छ । बाध्यकारी व्यवस्था रहे मात्रै त्यसलाई प्रत्याभूति गरेको मान्न सकिन्छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्तको संरक्षण गर्ने जिम्मेवारी राज्य, समाज तथा परिवारको हो । उनीहरूलाई व्यक्तिगत दायित्व थोपर्न मिल्दैन । हाम्रो मुलुकमा राज्य जिम्मेवार छैन । समाज र परिवार झन् गैरजिम्मेवार छ । यही कारण धेरै मानिस सडक मानव बन्न बाध्य छन् ।
जसको सडकबाहेक कोही सहारा छैन, ऊ सडक मानव हो । होश, हवाश, हातखुट्टा सही, सलामत अवस्थामा रहेका व्यक्ति पनि सडकमा आइपुग्छन् । सद्दे मानिस सडकमा आइपुग्नुमा कतिपय व्यक्तिको आफ्नै कारण छन् भने कतिपय अरूको कारण वा परिबन्धले गर्दा सडकमा पुग्छन् । विकसित मुलुकमा पनि ‘घरविहीन मानव’ छन् । त्यहाँ गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य एवं सुरक्षामा राज्यको पूर्णरूपमा प्रत्याभूति भएपनि केही कारणहरू छन्, जसलाई राज्यले संरक्षण गर्दैन । कुलत वा कानूनविपरीत क्रियाकलापमा लागेर घरबार, रोजगार गुमाएका वा राज्यको विश्वास गुमाइसकेका व्यक्तिलाई रोजगार दिन तथा आधारभूत आवश्यकता पुरा गर्न राज्य बाध्य हुँदैन । शरीर स्वस्थ छ, हातमा शैक्षिक प्रमाणपत्र पनि छ तर गैरजिम्मेवार, जवाफदेहिताविहीन हर्कत गरेका वा गैरकानूनी क्रियाकलापमा संलग्न रही राज्यको विश्वास गुमाएका व्यक्ति अन्ततः घरवारविहीन भई सडकमा पुग्छन् । सडक मानव कुनै स्थायी निवास, पारिवारिक समर्थन वा आर्थिक सुरक्षाविना बाँचिरहेका हुन्छन् । यसबाहेक सडकमा पुग्ने अन्य पनि धेरै कारण छन् ।
मानसिक सन्तुलन गुमाएर आफैंलाई बिर्सिएकाहरू ठूलो सङ्ख्यामा सडकमा छन् । आफन्तजनको तिक्तता, तिरस्कारबाट वैरागिएका र धकेलिएकाहरू सडकमा पुगेका हुन्छन् । अतः सामाजिक संरचना, शिक्षा र अवसरको कमी, आर्थिक अभाव, पारिवारिक विच्छेदलगायतका कारण मानिस सडकमा पुग्ने भए तापनि हाम्रो मुलुकमा भने मुख्यतः दुई कारणले मानिस सडकमा पुगेका छन् । मानसिक अवस्था र परिवारिक तिरस्कारले । कतैकतै यी दुवैको फ्युजन पनि देखिन्छ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेशनले हाल सञ्चालन गरिरहेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको स्थलगत रिपोर्ट अनुसार ६० प्रतिशत सडक मानवमा मानसिक समस्या देखिएको छ । समाज तथा परिवारले सानो प्रयास गरेको भए उनीहरू सडकमा पुग्ने थिएनन् । जो मानिस सडकमा छ, ऊ किन सडकमा पुग्यो भन्नेबारे छानबीन गरिने कानून बन्नुपर्छ । हरेक परिवारजनलाई कानूनी दायरामा ल्याउने व्यवस्था हुनुपर्छ । सरकारको तर्फबाट पहिले सचेतना र त्यसपछि कानूनी बन्धन हुनैपर्छ । सडकमा हुत्याएर झन्झटबाट मुक्त हुने मानसिकता परिवारजनमा देखिन थाल्यो । घरपरिवार र समाजको दायित्व के त ?