प्रस, वीरगंज, ६ कात्तिक/
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीयता कार्यान्वयनमा सहजीकरण र सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै सुशासनलाई जोड दिंदै आएको बताएका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा मङ्गलवार पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । मन्त्री गुप्ताले आपूmले सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी तुल्याउँदै सुशासनमा जोड दिएको दाबी गरे । पत्रकार सम्मेलनमा उनले मन्त्रालय अन्तर्गत २५ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका थिए ।
प्रगति विवरणमा सङ्घीय निजामती सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन सङ्घीय निजामती विधेयक संसद्बाट पारित गराउन मन्त्रालयको ध्यान केन्द्रित गरिएको र सो विधेयक अहिले राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको बताए । उनले विधेयक आगामी संसद्को अधिवेशनबाट स्वीकृत हुने बताए ।
मन्त्री गुप्ताले स्थानीय तहलाई थप सबल र क्रियाशील बनाउन मन्त्रालय लागिपरेको बताए । उनले जिल्ला समन्वय समितिको भूमिकालाई थप प्रभावकारी बनाउन ५५ वटा जिससमा प्राविधिक जनशक्ति व्यवस्था गरिएको र सोका लागि प्रथम र द्वितीय श्रेणीका ४१५ पदपूर्तिको लागि लोकसेवा आयोगमा माग गरिएको बताए । स्थानीय तहको सबल र दुर्बल पक्षको पहिचान गरी विकास तथा सुशासनमा रहेका कमीकमजोरीको जानकारी लिन र गाउँ तथा नगरपालिकाबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एकीकृत मूल्याङ्कन कार्यविधि ढाँचा तयार गरिएको बताए ।
उनले पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहका वरिष्ठ कर्मचारीलाई मात्र निमित्त व्यवस्था गरिएको र हाल रिक्त रहेका २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न नयाँ नियुक्त हुने अधिकृतस्तरका कर्मचारीलाई पहिलो पदस्थापन हुने व्यवस्था गरिएको पनि बताए । मन्त्री गुप्ताले विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रभावकारीलगायतका कार्यहरूलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका थिए ।