धर्मेन्द्र चौरसिया, पोखरिया, ६ कात्तिक/
धोबिनी गाउँपालिका–५ स्थित अजिज मियाँ माध्यमिक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूको तलब सुविधा माग गर्दै मङ्गलवार गापा कार्यालयमा नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका छन् ।
अजिज मियाँ माविमा कार्यरत नौजना शिक्षकशिक्षिकाले दशैंमा तलब नपाएका र अहिले दीपावली र छठ पर्व आइसक्दा पनि तलब पाउने छाँटकाँट नदेखेपछि विद्यार्थीहरूलाई गापाविरुद्ध प्रदर्शनमा उतारिएको हो । विद्यार्थीहरूले गापा कार्यालयमा शिक्षकहरूलाई तलब उपलब्ध गराउनका लागि दबाबमूलक प्रदर्शन गरेका र सो क्रममा आक्रोशित विद्यार्थीहरूले गापा कार्यालयका पाँचवटा कुर्सी तोडफोड गरेको गापा कार्यालयले जनाएको छ ।
अजिज मियाँ मावि धोबिनीमा निजी स्रोतमा पाँचजना शिक्षकलाई वडास्तरको बजेटबाट तलब दिनेगरी गत साउनमा नियुक्त गरिएको थियो । यसैगरी, सङ्घीय अनुदानका मावि तहमा दुई र निमावि तहका एक गरी तीनजना र अनुदानमा उमावि तहका एक गरी नौजना शिक्षकशिक्षिकाले अहिलेसम्म तलब पाएका छैनन् ।
गापाका शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठीलाई आज शिक्षकशिक्षिकाहरूले ज्ञापन बुझाएका थिए । ज्ञापन बुझ्दै प्रमुख त्रिपाठीले गापामा छजना सङ्घीय अनुदानका शिक्षकहरू कार्यरत रहेका र उनीहरूको एक चौमासिक तलब १२ लाख हुनेपर्नेमा सरकारले यो चौमासिकमा केवल पाँच लाख ७८ हजार पठाएकोले वितरण नगरिएको बताएका छन । उनले यसका लागि पत्राचार भएको र रकम आएसँगै वितरण गरिने बताए । वडास्तरीय बजेटबाट तलब खुवाउने गरी निजी स्रोतका शिक्षकहरूको हकमा भने असोज महीनामा मात्र गाउँसभा भएको र बजेट विनियोजन भएर नआएको कारण समस्या भएको बताए । उनले बजेट आएसँगै तलब सुविधा वितरण हुने बताए ।