नितेश कर्ण, सर्लाही, ६ कात्तिक/
सर्लाही जिल्लाको उत्तरी चुरे क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । सुक्खा मौसम शुरू भएसँगै विगतका वर्षहरूझैं यस वर्ष पनि सो क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको हो ।

गत असोजमा आएको अविरल वर्षाले खोलामा रहेका पानीका मुहानहरू पुरिएपछि खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१५ को रुन्चे बजार, धुसेनी, देउराली, भुमरा, तल्लो देउराली, वडा नं १२ को जल्किनीडाँडा र भालुखोप तथा वडा नं १४ को नारायणखोलाका अधिकांश बस्ती, ईश्वरपुर नगरपालिका–१२ को घारीबथान, हरिवन नगरपालिका–१ पटौनालगायत चुरे क्षेत्रका बस्तीहरूमा खानेपानीको समस्या देखिएको छ ।

जिल्लाको उत्तरी चुरे क्षेत्रमा रहेका धारा, कुवा, इनारलगायत खानेपानीका स्रोतहरू तथा सुक्खा मौसममा सुकिसकेका मुहानहरूमा पानी आउन थालेको थियो । तर अविरल वर्षाका कारण खोलामा आएको बाढीले पानीका मुहानहरू पुरिएपछि सो क्षेत्रका बस्तीहरूमा खानेपानीको अभाव शुरू भएको स्थानीयले बताएका छन् ।

सो क्षेत्रका बासिन्दाहरू खोलाको धमिलो पानी पिउन बाध्य छन् । स्थानीय सरकारलाई जनताको समस्याको विषयमा जानकारी हुँदाहुँदै पनि त्यसको विकल्प र समाधानको बारेमा चासो नलिंदा यस क्षेत्रका जनताले हरेक वर्ष खानेपानीको समस्या झेल्दै आइरहेका छन् । लालबन्दी नगरपालिकाको वडा नं १२ मा १०३, वडा नं १५ मा ३९१ तथा वडा नं १४ मा ७६४ घरधुरी खानेपानीको समस्याबाट पीडित छन् । त्यस्तै, ईश्वरपुर नगरपालिका–१२ मा एक हजार १०० घरधुरीमा खानेपानीको समस्या रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here