चिरञ्जीवी सापकोटा, ठोरी, ५ असोज/
ठोरी गाउँपालिकाका अधिकांश किसानको पाकेको धान खेतमा डुबेर अलपत्र परेको छ ।

दुई दिनदेखि रातिको समयमा वर्षा हुँदा खेतमा काटेर सुकाइएको धान डुबेर किसानहरूलाई समस्या परेको छ । विशेषगरी ठोरी गापा–१, २ र ३ का किसानहरूले दशैंलगत्तै काटेर सुकाउन खेतमैं छोडेका धान डुबेको हो । ठोरी गापा–३ रामनगरका किसान कृष्णप्रसाद घिमिरेले एक बिघामा लगाएको धान काटेर खेतमैं सुकाएका थिए । केही दिनपछि सुक्छ अनि भिœयाउने चाँजोपाँजो मिलाइरहेका बेला उनले सोचेभन्दा विपरीत भयो । दुई दिन रातिको समयमा वर्षा हुँदा घिमिरेको धान खेतकै पानीमा डुबेको छ ।

ठोरी गापा–२ सुन्दरबस्तीका किसान आत्माराम सापकोटाले पनि आफूहरूले मानो रोपेर मुरी भिœयाउने सपना देखेकामा अधूरो भयो भन्ने गुनासो गरे । काटेको धान खेतमैं डुब्यो, अब काट्न बाँकी धान पनि बोटमैं बाला झुलेर उम्रने अवस्थामा पुगिसकेको छ र काटिहाले फेरि पानी परेर डुब्ने हो कि भन्ने डर छ, सापकोटाले दुःखेसो पोखे ।

प्रत्येक वर्ष दशैंपछि र तिहार अघि किसानहरूलाई धान भिœयाउन चटारो पर्छ । अहिले किसानले काटेर सुकाएको धान भिजेर किसानलाई तनाव बढाएको छ भने अब भिजेको धानलाई खेतबाट उठाएर सुक्खा जमीनमा राख्ने काम बढेको छ । यसो गर्दा धान बालामैं उम्रने समस्या आइपर्ने नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य प्रकाश खनालले बताए ।

किसानहरूले महँगो बीउ किनेर राम्रो धान र धेरै धान फलाउन अत्यधिक परिश्रम गरेका थिए । महँगो ज्याला तिरेर, मल तथा कीटनाशक औषधिलगायतका लागि कतिपय किसानहरूले ऋण लिएर लगाएको धान खेतमा डुबेर उम्रने अवस्था आएको खनालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here