प्रस, वीरगंज, ५ कात्तिक/
राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया नगरपालिकामा भएको बेथितिविरुद्ध सोमवार ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रीय सदस्य निजामुद्दीन समानीले नगरप्रमुख प्रद्युम्न चौहानलाई बुझाएको ज्ञापनमा यस अघि लगाइएको सम्पत्ति करमा तीन गुणा वृद्धि गरिएको भन्दै आपत्ति जनाएका थिए । उनले आर्थिक सङ्कटको बेलामा सम्पत्ति कर बढाइएकोले जनतालाई समस्या भएको बताए ।
यसैगरी, जिल्ला अस्पताल पोखरियामा स्वास्थ्य बीमा गराएकाहरूले औषधि नपाएको, पोखरिया नपामा कार्यरत कर्मचारीहरूले तलब नपाएको तथा नगरपालिकाले अनधिकृतरूपमा दैनिक ज्यालादारी, करारमा कर्मचारी नियुक्त गरेकोजस्ता कामहरू भइरहेकामा सोमा सुधार हुनुपर्ने माग गरेका छन् ।
नगरपालिकाले निर्माण कार्य शुरू गरेका योजनाहरूको भुक्तानी नभएको, नगर विस्तार समितिको जग्गाको समाधान नभएकोलगायतका मागहरू पूरा गर्नुपर्ने र सो नभए सङ्घर्ष गर्ने चेतावनी दिएका थिए । ज्ञापनपत्र बुझाउन सो पार्टीका केन्द्रीय सदस्य राजेश यादव, जहीर मियाँ, जिल्ला संयोजक राजेश साह, मनोज साहलगायतको सहभागिता थियो ।
यस अघि यो पार्टीले नगरपालिकाका समस्याहरू समाधान गर्नुपर्ने भन्दै अनिश्चितकालीन रिले अनशन गरेको थियो । सङ्घ सरकारका मन्त्री राजकुमार गुप्ता र प्रदेश सरकारका मन्त्री प्रमोद जयसवालले गत असोज २३ गते माग सम्बोधन हुने भनी आश्वासन दिएपछि असोज १३ गतेदेखि शुरू भएको रिले अनशन तोडिएको थियो ।
अहिले सङ्घ र प्रदेश सरकारका मागहरू राखिएका छैनन् । स्थानीय पालिकाका मागहरू राखेर ज्ञापनपत्र बुझाइएको छ ।