प्रस, रौतहट ४ कात्तिक/
स्थानीय तहका प्रमुखहरूले संयुक्तरूपमा आइतवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलार्ई ज्ञापनपत्र बुझाएका छन् ।
गौर, माधवनारायण, ईशनाथ, बौधीमाई नगरपालिका र यमुनामाई गाउँपालिकाका प्रमुखहरूले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालय, रौतहटमा उपस्थित भई प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
गत असोज १३ गते बाग्मती र लालबकैया नदीसहित विभिन्न खोलामा आएको बाढीबाट जिल्लाका अधिकांश भूभाग डुबानमा परेर व्यापक क्षति भएपनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन शाखाले पालिकाहरूको नाम सङ्कटग्रस्त सूचीमा नराखेकोले स्थानीय तहका प्रमुखहरूले प्रजिअ हीरालाल रेग्मीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बाग्मती र लालबकैया नदीका छेउमा रहेका गौर, माधवनारायण, ईशनाथ, बौधीमाई नगरपालिका र यमुनामाई गाउँपालिका बाढीबाट अति प्रभावित भएपनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा नभएकोमा दुःखेसो पोख्दै माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथप्रसाद यादवले विपद् सङ्कटग्रस्त क्षेत्र समावेश गर्न छुट भएकामा यी पालिकाहरूलाई समावेश गर्न आग्रह गरेका छन् ।
यस अघि रौतहटका पाँचवटा पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकिएको छ । गढीमाई, राजदेवी, राजपुर फरहदवा, परोहा, दुर्गाभगवती गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।