प्रस, पंचगावाँ, ४ कात्तिक/
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पर्साका यादव समुदाय शिक्षा, रोजगार र व्यवसायमा पछाडि परेको बताएका छन् ।
पटेर्वासुगौली गाउँपालिका–५ निचुटास्थित सोमेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा गोपाल सेवा समिति पर्सा क्षेत्र नं ३ (क) तदर्थ समितिले आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा उनले पर्साका ग्रामीण क्षेत्रको यादव समुदायले उच्च शिक्षा हासिल गर्नुपर्नेमा जोड दिए । उनले बालविवाह, दाइजोप्रथा पूर्णरूपमा निर्मूल पार्नु सबै समुदायको जिम्मेवारी रहेको बताए । उनले गाउँ–समाजको विवाद गाउँमैं सुल्झाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा शिक्षक हरिराज यादवले गोपाल सेवा समिति कुनै राजनीतिक दल नरहेको बताउँदै यो समिति शुद्ध मनले यादव जातिको उत्थान र सहयोगको भावना लिएर अगाडि बढेको बताए ।
समाजसेवी शैलेन्द्र यादवले यादवहरूको उन्नतिको लागि समितिलाई अगाडि बढ्न सुझाव दिए । सञ्चारकर्मी प्रमोद यादवले यादव समुदायका आराध्यदेव भगवान् श्रीकृष्ण रहेकाले श्रीकृष्णले देखाएको बाटो अवलम्बन गर्न आग्रह गरे । उनले कृषिकर्मसँगै यादव समुदायले समाज र देशको उत्थानको लागि पनि अगाडि बढ्न जरुरी रहेको बताए ।
कार्यक्रममा मनोज यादव, कृष्णमोहन यादव, रामनारायण यादव, पुरन यादवलगायतको सहभागिता थियो ।
कार्यक्रममा समितिको दोस्रो बैठक मङ्सिरको अन्तिम शनिवार सखुवाप्रसौनीमा गर्ने निर्णय गरिएको छ । समितिका अध्यक्ष नगेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक रामबहादुर यादवले गरेका थिए ।