प्रस, निजगढ, ४ कात्तिक/
बाराको बालगङ्गा खोला ठेक्कामा लिएको ठेकेदार कम्पनीले मापदण्डभन्दा बढी नदीजन्य पदार्थको अवैध उत्खनन गरेको प्रमाण फेला परेको छ । जीतपुुरसिमरा उपमहानगरपालिकाले आन्तरिक राजस्व सङ्कलन गर्न २०८०/८१ मा कलैयाको जय मातादी कन्स्ट्रक्शनलाई मापदण्डभित्र रही उत्खनन गर्न अनुमति दिए पनि ठेकेदार कम्पनीले सो मापदण्डको उल्लङ्घन गर्दै करोडौं मूल्य बढीको नदीजन्य पदार्थ अवैध उत्खनन गरेको पाइएको छ ।

जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्रकुमार साह नेतृत्वको अनुगमन टोलीले बाराका खोलाहरूको स्थलगत अनुगमन गर्ने क्रममा बालगङ्गा खोलामा ठेकेदार कम्पनीले मापदण्डको चरम उल्लङ्घन गरेको पाएपछि उत्खनन कार्य रोक्दै प्राविधिक समिति गठन गरी उत्खननस्थलको नापजाँच गरी परिमाण निकाली तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।

प्राप्त प्रतिवेदनमा ठेकेदार कम्पनीले मापदण्डभन्दा एक लाख ६३ हजार ३६६ घनमिटर बढी नदीजन्य पदार्थको अवैध उत्खनन गरेको पाइएको छ । ठेक्का सम्झौतामा तोकिएको मूल्यको हिसाबले पाँच करोड ७६ लाख ३५ हजार ५२४.८० रुपियाँ बराबरको नदीजन्य पदार्थको अवैध उत्खनन गरी ठेकेदार कम्पनीले लगेको प्रतिवेदनमा उल्लेख छ ।

प्राविधिक समितिले तयार पारेको प्रतिवेदन अनुसार ठेकेदार कम्पनीले आव २०८०/८१ मा ७५ हजार २०० घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न पाउने ठेक्का सम्झौतामा उल्लेख भएको तर ठेकेदार कम्पनीले दुई लाख २२ हजार २४६.८० घनमिटर नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको छ ।

ठेकेदार कम्पनीले वन क्षेत्रबाट १,३५,०८६.६६ घनमिटर अवैध उत्खनन गरेको छ भने पहिलो प्लट र पहिलो तथा दोस्रो प्लटबीचबाट क्रमशः २८,२८० र ५१,३७९.५० घनमिटर अवैध उत्खनन गरेको प्रतिवेदनमा उल्लेख छ ।

ठेक्का सम्झौता र मापदण्डमा तोकिएको प्लटभन्दा बाहिर वन क्षेत्रमा समेत अवैध उत्खनन गरेको प्राविधिक समितिले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । वातावरणीय परीक्षण प्रतिवेदन अनुसार ठेक्का सकार गर्दा पालना गर्नुपर्ने अधिकांश शर्तसमेत पालना नगरेको सो प्रतिवेदनमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here