प्रस, जीतपुर, ४ कात्तिक/
सिमरा विमानस्थलबाट गत आठ महीनामा तीन हजार १५४ वटा उडान सेवाबाट एक लाख ६० हजार ३९९ जनाले सिमरा–काठमाडौं–सिमरा आवागमन गरेको सिमरा विमानस्थलका प्रबन्धक सूर्यबहादुर खत्रीले बताए ।
प्राप्त विवरण अनुसार सन् २०२४ जनवरी–अगस्त आठ महीनामा दुईतर्फी तीन हजार १५४ वटा उडान सेवामार्फत ८१ हजार ९५० जना यात्रीले काठमाडौं–सिमरा र ७८ हजार ४४९ जना यात्रीले सिमरा–काठमाडौं यात्रा गरेका छन् ।
सिमरा–काठमाडौं–सिमरा विमानसेवाबाट पर्सा, बारा, रौतहट, मकवानपुरलगायत छिमेकी भारतका सेवाग्राहीहरू लाभान्वित भएका छन् ।
भारतीय सीमावर्ती शहर रक्सौलदेखि २५ किलोमिटर र वीरगंजदेखि २० किलोमिटर उत्तर दिशामा अवस्थित सिमरा विमानस्थलले प्राकृतिक प्रकोप बाढीपहिरोले काठमाडौं जाने राजमार्ग अवरुद्ध भएका बेला पनि यस भेगका सेवाग्राहीहरूलाई ठूलो टेवा दिंदै आएको विमानस्थलका सूचना अधिकृत सुरेन्द्र सिंह कुशवाहाले बताए ।