प्रस, वीरगंज, ३ कात्तिक/
जिल्ला प्रहरी कार्यालय, बाराले गाँजा बरामद भएपछि फरार रहेका एकजनालाई छ महीनापछि हिजो शुक्रवार पक्राउ गरेको छ ।
गत वैशाख ६ गते बाराको पचरौता नगरपालिका–४ बाट २३० किलो गाँजासहित प्रहरीले रौतहट जिल्ला फतुवाविजयपुर नगरपालिका–४ बस्ने चन्दन पासवानलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका पासवानले आफू भरिया मात्र भएको र कारोबारी भने सिम्रौनगढ नपा–६ निवासी अजितकुमार नुनिया रहेको बयान दिएका थिए । उनको बयानपछि जिल्ला अदालत बाराले नुनियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नुनिया फरार थिए ।
हिजो उनलाई पक्राउ गरिएको र बारा जिल्ला अदालतमा हाजिर गराइएको तथा अदालतले पुर्पक्षका लागि नुनियालाई कारागार सजाय सुनाएपछि बन्दी सुधारगृह (कारागार) वीरगंजमा पठाइएको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।