प्रस, वीरगंज, ३० असोज/
जिल्ला प्रहरी कार्यालय, पर्साले ६९औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा जिप्रका, पर्सामा आयोजित कार्यक्रमको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उद्घाटन गरेका थिए । उनले विधि, विधान र नियम–कानूनको पालना गरी काम गर्न प्रहरीलाई सुझाव दिए ।

प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व प्रहरी नायब उपरीक्षक हरिनारायण गुप्तालाई सम्मान गरिएको थियो । यसैगरी, प्रहरीसँग हातेमालो गरी कार्यक्रम गर्दै आएका संस्थाहरूलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।

यसैगरी, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कसैको प्रभावमा नपरी प्रहरीलाई काम गर्न आग्रह गरे ।

बुधवार जिल्ला प्रहरी कार्यालय, बाराले आयोजना गरेको ६९औं प्रहरी दिवसको अवसरमा प्रजिअ घिमिरेले नागरिकको सेवामा अहोरात्र खटिरहेको प्रहरीले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्ने बताए ।

कार्यक्रममा प्रहरी उपरीक्षक महेन्द्र खड्काले नागरिकलाई अप्ठ्यारो पर्दा सहयोगी बनेर काम गर्न प्रहरीलाई आग्रह गरे । उनले नागरिकको मन जितेर प्रहरीले काम गर्नुपर्नेमा जोड दिए ।

प्रउ खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट प्रहरी वरिष्ठ हवलदार विनोद साहलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, पूर्व प्रहरी सङ्गठनका संयोजक जङ्गबहादुर यादव, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रामबाबू मेहतालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा र सञ्चालन प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले गरेका थिए ।

नितेश कर्ण, सर्लाही/
६९औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, सर्लाही विभिन्न कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कर्तव्यपालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारी र नेपाल प्रहरीलाई निश्शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सरीता मचामसीले र स्वागत प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here