प्रमोद यादव, पंचगावाँ, ३० असोज/
पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले पाँचवटा चोरीका मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ ।
पर्सागढी नगरपालिका–९ का २१ वर्षीय सिद्धार्थ चौधरी, वडा नं ८ का २४ वर्षीय विशाल दास थारू र वडा नं २ का ३० वर्षीय प्रीतम महतोलाई चोरीका मोटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले बताए ।
असोज २५ गते सखुवाप्रसौनी गाउँपालिका–१ सतवलका शिवदत्त दास थारूको ना.५१प ७४३५ नम्बरको मोटरसाइकल घरबाट चोरी भएको थियोे । उनले इप्रका, पटेर्वासुगौलीमा मोटरसाइकल चोरीको निवेदन दिएको प्रनि बुढाथापाले बताए ।
इप्रका, पटेर्वासुगौलीले असोज २८ गते पर्सागढी नगरपालिका–९ कोइलाभारबाट चोरीको मोटरसाइकलसहित सिद्धार्थ चौधरीलाई पक्राउ गरेको थियो ।
प्रहरीले चौधरीसँग सोधपूछ गर्ने क्रममा उनले मोटरसाइकल चोरीमा अरू व्यक्तिको पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले विशाल र प्रीतमलाई पक्राउ गर्दै थप चारवटा चोरीका मोटरसाइकल बरामद गरिएको प्रनि बुढाथापाले बताए ।
पक्राउ परेका तीनैजनामाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताएका छन् ।
यसैगरी, इलाका प्रहरी कार्यालय, गरुडाले चोरीका तीनवटा मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ । असोज २१ गते गढीमाई नगरपालिका–६ बखरी टोलका उनितेश साहको घरबाट चोरी भएको मोटरसाइकलसहित सोही ठाउँका १९ वर्षीय धीरज साह पक्राउ परेका छन् ।
त्यसैगरी, असोज २२ गते माधोपुर बजारबाट चोरी भएको माधवनारायण नगरपालिका–६ का श्यामबाबू यादवको भारतीय नम्बरको मोटरसाइकलसहित सर्लाही ईश्वरपुर नगरपालिका–१३ का १९ वर्षीय श्याम महतो पक्राउ परेको प्रहरीले बताएको छ ।
त्यसैगरी, असोज २६ गते सुकदेवचोकबाट चोरी भएको यमुनामाई गाउँपालिका–२ का अम्बिका यादवको मोटरसाइकलसहित कटहरिया नगरपालिका–९ दुमरिया बस्ने २१ वर्षीय मन्दित यादव पक्राउ परेको इप्रका, गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी गराएका छन् ।
पक्राउ परेका तीनैजनामाथि चोरीसम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रनाउ कार्कीले बताएका छन् ।