प्रस, परवानीपुर, ३० असोज/
वीरगंजमा एकजना युवकको पेटबाट सीसाको बोतल निकालिएको छ । वीरगंज–१८ भवानीपुर बस्ने वर्ष ४० का शिवनारायण साहको पेटबाट सीसाको बोतल निकालिएको हो ।
गत असोज १३ गते बिहान उपचारका लागि वीरगंज हेल्थकेयर हस्पिटलमा भर्ना भएका साहको पेटको एक्स–रे गर्दा सीसाको बोतल देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरू चकित भएका थिए । त्यसको लगत्तै चिकित्सकले तत्काल पेटको शल्यक्रिया गर्दै आन्द्रा काटेर उक्त सीसाको बोतल निकालेका थिए । करीब दुई हप्ता अस्पतालमा उपचार गराइ साह हिजो आफ्नो घर फर्किए । पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने तथ्यमा अनुसन्धान भइरहेको छ ।
यस सम्बन्धमा पीडित साहसँग कुरा गर्दा उनले पनि पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने विषयमा आफूलाई केही जानकारी नरहेको बताए । असोज १३ गते साँझ साढे ८ बजे मेरो होश खुलेपछि मेरो मलद्वार र पेटमा पीडा भइरहेको थियो, आफ्नो पेटमा सीसाको बोतल रहेको चिकित्सकले बताएपछि आफूलाई यसबारे थाहा भयो तर बोतल पेटमा कसरी पुग्यो आफूलाई कुनै सम्झना नरहेको बताए ।
यसै विषयमा वीरगंज–१८ भवानीपुरका पूर्ववडाध्यक्ष ब्रह्मदेव प्रसादसँग बुझ्दा उनले आफूलाई पनि यो घटनाबारे विस्तृतरूपमा थाहा नभएको र सो युवकको चालचलन पनि राम्रै रहेको बताए । तर घटना कसरी भएको हो, स्पष्ट हुन नसकेको उनले बताए । वडा प्रहरी कार्यालय, श्रीपुरका प्रनि श्यामकुमार बस्नेतले पेटभित्र बोतल कसरी पस्यो भन्नेबारेमा अनुसन्धान भइरहेको बताए ।