प्रमोद यादव, असोज २९/
बहुदरमाई नगरपालिका–४ का पूर्ववडाध्यक्ष रामरेखा सिंह मङ्गलवार दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार मोटरसाइकल सखुवाप्रसौनी गाउँपालिकाको कच्ची सडकमा कालोपत्र बनाउन थन्काएर राखिएको बालुवा, गिट्टीमा परेर अनियन्त्रित भएको र पछाडिबाट आएको अर्काे मोटरसाइकलले ठक्कर दिंदा पूर्ववडाध्यक्ष सिंह घाइते भएका हुन् ।
सखुवाप्रसौनी गापाका विभिन्न स्थानमा कच्ची सडक कालोपत्र गर्नका लागि ठेक्का सकार गरेका ठेकेदारहरूको लापरवाहीका कारण सवारी दुर्घटना बढिरहेको स्थानीय बताउँछन् ।
सखुवाप्रसौनी गापा–२ श्रीपुर पंचगावाँदेखि सखुवाप्रसौनी गाउँसम्म कालोपत्र सडक निर्माण कार्य शुरू छ । अहिले सो क्षेत्रमा कालोपत्र सडक निर्माणका लागि आवश्यक पर्ने बालुवा, गिट्टी ठेकेदार कम्पनीले कच्ची सडकमा थुपार्दै आएको छ । यसरी थुपारिएको सामग्रीहरूमा परेर खासगरी मोटरसाइकल दुर्घटना बढेको छ ।
श्रीपुर पंचगावाँदेखि सखुवाप्रसौनीसम्मको करीब डेढ किलोमिटर सडक कालोपत्र गर्नको लागि अनिल निर्माण सेवा मिर्जापुरले रु ८६ लाखमा ठेक्का सकार गरेर काम गर्दैछ । ठेकेदार मनोज कुमारले चाडपर्वमा रोकिएको निर्माण कार्य आजबाट पुनः शुरू भएको बताए । सडकमा ढिस्को बनाएर निर्माण सामग्रीहरू राखिएको कारण अहिले यो सडकखण्ड भएर चार पाङ्ग्रे सवारीसाधनहरूलाई आवतजावतमा निकै समस्या भएको छ भने मोटरसाइकलहरू दुर्घटनाको शिकार भइरहेका स्थानीयहरू बताउँछन् । ठेकेदार मनोजले भने– “दशैंको कारण १० दिनदेखि कामदारहरू नआएर काम रोकिएको छ । बीच सडकमा रहेका सामग्रीलाई गे्रडरबाट सम्याउने काम शुरू गर्छु ।” उनले आगामी कात्तिकमा कालोपत्र गर्ने काम सम्पन्न गरेर पालिकालाई हस्तान्तरण गरिने बताए ।
सखुवाप्रसौनी गापा–४ मा पनि ठेकेदारले सडक कालोपत्र गर्ने क्रममा बीच सडकमा निर्माण सामग्री थुपारेर काम अलपत्र राख्दा उक्त बाटोमा सञ्चालित सवारीसाधनहरूलाई समस्या भएको छ ।
ओमसाई निर्माण सेवाले यो सडकखण्ड कालोपत्र गर्न रु एक करोड ४७ लाखमा ठेक्का सकारेर काम गर्दै आएको छ । यहाँको ठेकेदारले पनि कालोपत्र निर्माणका लागि आवश्यक सामग्रीहरू बीच सडकमा जथाभावी राख्दा आवतजावतमा समस्या भएको स्थानीयले बताए । ठेकेदार सन्नी यादवले दशैंका कारण केही दिन काम ठप्प भएको तर अविलम्ब सञ्चालनमा आउने बताए । उनले पनि कात्तिक महीनामा कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कार्य अगाडि बढिरहेको दाबी गरे ।