इजरायलले लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण शुरू गरेयता लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घ शान्ति मिसन युनिफिलमा कार्यरत सेना समस्यामा परेका छन् । दक्षिणी लेबनानमा इजरायली सेनाको हवाई तथा स्थलगत आक्रमणबाट दिनहुँजसो युनिफिलका सेना घाइते भइरहेका छन् । विभिन्न समयमा भइरहेका इजरायली आक्रमणलाई उसले विभिन्न बहाना बनाउँदै टार्दै आएको भए तापनि बितेको आइतवार गरिएको आक्रमण मिचाहा किसिमको र शान्तिका पक्षधरहरूका लागि असह्य प्रकृतिको छ । दक्षिणी लेबनानमा रहेका शान्ति मिसनको आधार शिविरमा इजरायली सेनाको ट्याङ्कले गेट तोडेर भित्र प्रवेश गरी गोलीबारी र ग्रिनेट प्रहार ग¥यो । यसबाट शिविरमा १५ जना शान्ति सैनिक घाइते भए ।
लेबनानमा सन् १९७८ देखि संयुक्त राष्ट्रसङ्घले शान्ति सेना खटाएको छ । त्यस बेला पनि इजरायलले लेबनानमाथि आक्रमण गरेपछि, लेबनानले एउटा स्वतन्त्र सार्वभौमसम्पन्न मुलुकको हैसियतले पाउनुपर्ने अन्तर्राष्ट्रिय कानून अनुसार नै संयुक्त राष्ट्रसङ्घले शान्ति सेना तैनाथ गरेको हो । राष्ट्रसङ्घीय शान्ति सेनाले लितानी नदी र ‘ब्लू लाइन’ भनेर चिनिने लेबनान र इजरायलबीचको सीमा क्षेत्रमा गस्ती गर्दै आएका छन् । लेबनानमा रहेको संयुक्त राष्ट्र शान्ति मिसनमा नेपाल पनि एक प्रमुख योगदानकर्ता देश हो । हाल लेबनानमा करीब ५० देशका १० हजार युएन शान्ति सैनिक र ८०० जना सर्वसाधारण कर्मचारी तैनाथ छन् । सोमध्ये ८७७ जना नेपाली छन् । शान्ति सैनिक घाइते भइरहँदा अमेरिका, बेलायतसहित ४० राष्ट्रले इजरायलको कडा आलोचना गरेका छन् । इजरायली सेनाको आक्रमणप्रति नेपालले ढिलै भएपनि विरोध जनायो । इजरायलले भने आफ्ना घाइते सेनाको उद्धार गर्ने क्रममा शिविर प्रवेश गरेको भन्दै यस घटनामा पनि बहानाबाजी गरेको छ । जब संयुक्त राष्ट्रसङ्घीय शिविरमाथि नै आक्रमण हुन्छ भने अन्तर्राष्ट्रियस्तरको छानबीन अवश्य नै होला । वास्तविकता पत्ता लाग्ने नै छ । राष्ट्रसङ्घले शान्ति सेना वा उसको शिविरमाथि जानाजान आक्रमण गरेको ठहर भएमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन ठहर हुनेछ ।
इजरायलले शान्ति सेनामाथि अनजानवश आक्रमण गरेको भन्ने कुरामा शङ्का छ । पहिलो कुरा, शान्ति सेनाको तैनाथीमा नै इजरायलको चित्त बुझेको थिएन । संयुक्त राष्ट्रसङ्घले हस्तक्षेप नगरेको भए उसले आजभन्दा साढे चार दशक पहिले नै लेबनान नामेट पार्न चाहेको थियो । अहिले पनि पटकपटक उसले शान्ति सेना त्यहाँबाट हटाउन आग्रह गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई औपचारिकरूपमा शान्ति सेना हटाउन आग्रह गरेको केही घण्टामा नै आक्रमण भएको हो । शान्ति सेनालाई हिजबुल्लाह समूहले मानव ढालको रूपमा प्रयोग गरेको इजरायलको आरोप छ । इजरायललाई समर्थन गरिरहेका अमेरिका, दक्षिण कोरिया, बेलायतलगायतका मुलुक शान्ति सेनामा सहभागी छैनन् । उसको विरोधी पक्ष चीन, रूसलगायतका मुलुक भने समावेश छन् । आक्रमणविरुद्ध वक्तव्यबाजी गर्नु अमेरिकाको चाल हो । शान्ति सेनामाथि आक्रमणको खतरा समाप्त भएको छैन । संयुक्त राष्ट्रसङ्घ र शान्ति मिसनमा सहभागी मुलुकहरू सचेत हुनुपर्ने बेला आइसकेको छ । सकिन्छ भने इजरायललाई कडा चेतावनी दिनुपर्छ, सकिंदैन भने टाङ अडाएर बसेर मानवीय क्षति हुन दिनु पनि हुँदैन ।