प्रस, वीरगंज, ११ असोज/
वीरगंज महानगरपालिका कार्यालयमा कार्यरत करीब तीन सय बढी दैनिक ज्यालादारी र करारका कर्मचारीहरूले पाँच महीनादेखि तलब पाएका छैनन् ।
वीरगंज महानगरपालिकाको खाता सञ्चालनमा आएसँगै कोलेनिकाबाट रकम निकासा गरेर स्थायी कर्मचारी र जनप्रतिनिधिहरूको तलब, भत्ता वितरण गरिएको स्रोतले जनाएको छ । दशैं मुखमा आउँदासम्म दैनिक ज्यालादारी र करारमा कार्यरत तीन सय बढी कर्मचारीले अहिलेसम्म तलब नपाएको स्रोतले जनाएको छ । गत जेठ महीनादेखि दैनिक ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरूले तलब पाएका छैनन् ।
स्थायी कर्मचारीहरूले साउनदेखि खाता सञ्चालनमा नआउँदा तलब पाएका थिएनन् । कर्मचारीहरूले तलब सुविधा, दशैं खर्च र सेवानिवृत्त कर्मचारीहरूको उपदानबापतको रकमलगायतका मागहरू राखी दुई साता अघि अFन्दोलन गर्ने चेतावनी दिएका थिए । कर्मचारीहरूको तलब सुविधा एक सातामा दिनेगरी नगरप्रमुख राजेशमान सिंह कर्मचारी आन्दोलन रोकेका थिए । असोज ४ गते खाता सञ्चालनमा आएसँगै कर्मचारीहरूलाई तलब वितरण भएको छ । तर स्थायी कर्मचारी र जनप्रतिनिधिहरूलाई मात्र ।
दैनिक ज्यालादारी, करारका कर्मचारीको तलब र सेवानिवृत्त कर्मचारीहरूको उपदानबापतको रकम उपलब्ध गराइएको छैन । एकजना सेवा निवृत्त कर्मचारीले करीब २८ जनाको उपदानबापतको साढे १३ करोड रुपैयाँ बक्यौता रहेको बताए । महानगरले यस अघि सात सय कर्मचारीलाई दैनिक ज्यालादारीमा खटाएर तलब वितरण गरेको घटनामा मलेपले बेरुजू ठहर गरेपछि उनीहरूलाई हटाएको थियो ।