प्रस, वीरगंज, ११ असोज/
पर्सा जिल्लाका १४ वटा पालिकामध्ये असोज ११ गते शुक्रवारसम्म नौवटा पालिकाको बजेट निकासा भएको छ भने अझै पाँचवटा पालिकाको खाता सञ्चालनमा आउन सकेको छैन ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका मनीष गौतमले गत भदौ २३ गतेसम्म सखुवाप्रसौनी गापा मात्रको बजेट निकासा भएको र त्यसपछि असोज ४ गतेसम्म वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका र पटेर्वासुगौली गापा गरी तीनवटा पालिकाको खाता सञ्चालनमा आएको बताए । यसैगरी, अहिले असोज ११ गते शुक्रवारसम्म थप पाँचवटा पर्सागढी नपा, धोबिनी, छिपहरमाई, जगरनाथपुर र ठोरी गापाको खाता सञ्चालनमा आएको बताए ।
सरकारले दिने अनुदान सहयोग त्रैमासिकरूपमा कोलेनिकामार्फत पालिकाहरूको खातामा जान्छ तर मन्त्रालयले पर्सा जिल्लाका पाँचवटा पालिकालाई अहिलेसम्म खाता सञ्चालनको सुविधा प्रदान गरेको छैन ।
यसो गर्नुको कारण पाँचवटा पालिकाले अहिलेसम्म मन्त्रालयलाई नगर/गाउँ सभा गरेको विवरण अद्यावधिक गराएका छैनन् । असार ९ र १० गते पर्साका केही पालिकाहरूले नगर/गाउँ सभा सम्पन्न गरेका थिए । त्यसपछि असार मसान्त र भदौमा केही पालिकाहरूले गाउँसभा गरेका थिए । असोज ४ गते धोबिनी गापाले र असोज १० गते पकाहामैनपुरले गाउँसभा गरेका थिए भने अहिलेसम्म बहुदरमाई नगरपालिकाको मात्र नगरसभा भएको छैन ।
नगर/गाउँ सभा सम्पन्न गरेको जानकारी मन्त्रालयलाई गराएका पालिकाहरूको हकमा मात्र मन्त्रालयले बजेट निकासाको लागि बाटो खुला गर्छ ।
पर्सामा हालसम्म १३ वटा पालिकाको नगर/गाउँ सभा सम्पन्न भएको र पाँचवटा पालिका भने अहिलेसम्म सूचीकृत हुन सकेका छैनन् ।
नगर/गाउँ सभा गरेका पालिकाहरूले बजेट विनियोजन गरेका वडाहरूका साथै नगर/गाउँस्तरीय योजनाहरूको पनि सूची मन्त्रालयमा पठाएको खण्डमा मात्र उनीहरूको बजेट निकासा हुन्छ ।
अहिले पनि बहुदरमाई नपा र विन्ध्यवासिनी, जीराभवानी, कालिकामाई तथा पकाहामैनपुर गापा गरी पाँचवटा पालिकाको खाता सञ्चालनमा आउन सकेको छैन ।