प्रस, परवानीपुर, ११ असोज/
अविरल वर्षाका कारण पर्सा जिल्ला उच्च जोखिममा रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएसँगै जिल्लामा व्यवस्थापनको तयारीका प्रयास शुरू भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै आगामी केही दिन अविरल वर्षा हुने सम्भावना रहेकोले सरोकारवालाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक दिनेशसागर भुसालले पर्साका विभिन्न खोलाका किनार एवं आसपासका क्षेत्रलाई जोखिम पहिचान गरी तयारीको लागि सुरक्षाकर्मी र अन्य तयारी भइसकेको बताएका छन् ।
पर्सामा करीब ३८ ठाउँ जोखिममा रहेको भन्दै उद्धारका लागि जनपद तथा सशस्त्र प्रहरी र नेपाली सेना यस कार्यमा सहभागी हुने जनाइएको छ । यसैगरी, अन्य राहत तथा उद्धार कार्यमा गैरसरकारी संस्थाहरूलाई समेत तयारी अवस्थामा राखिएको उनले बताए ।
पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालका अनुसार जिल्लाको पोखरिया र वीरगंजस्थित चिनीमिल गणमा १५/१५ जना तालीमप्राप्त उद्धार टोली तयारी अवस्थामा छन् । थप आवश्यकता भएको अवस्थामा थप सुरक्षाकर्मी परिचालन गर्नेसमेत उनले बताए । तीनवटै निकायका करीब एक हजार सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको उनले बताए ।
पर्साका श्रीसिया, भेडाहा, बङ्गरी, तिलावे, सिंगाही, सिकटा, ओरियालगायत खोलाको जलस्तर बढेर आसपासका गाउँबस्ती डुबान पर्ने भएकाले सो क्षेत्रका जोखिम क्षेत्रलाई मापन गरी सुरक्षा निकायले सतर्कता अपनाउन स्थानीयस्तरबाट पनि काम गरिरहेको उनले बताए ।
उद्धार गरी अन्य ठाउँमा स्थानान्तरण गर्ने अवस्था आयो भने गाउँघरका अस्पताल, विद्यालय, कलेजलगायतका सुरक्षित स्थानमा स्थानान्तरण गरी सुरक्षा प्रबन्ध मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको तयारी रहेको उनले जानकारी गराएका छन ।
बाराको पसाहा आसपासका क्षेत्रमा उच्च सतर्कता
बारा जिल्लाको क्षेत्र भएर बग्ने पसाहा खोलाको किनार आसपासका क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ । शुक्रवार अपराह्न ४ बजेर २० मिनेटपछि अविरल वर्षाका कारण पसाहा खोलाको महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा बसोबास गर्ने स्थानीयहरूलाई भोलि शनिवार बिहानसम्म उच्च सतर्कता अपनाइराख्न जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।
यसैगरी, बाराको विपद् व्यवस्थापन समितिले बाराका अन्य जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन मातहतका सुरक्षा युनिटलाई निर्देशन दिएको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाराका एकजना सदस्यले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायतका तालीमप्राप्त सुरक्षाकर्मीबाट विपद् उद्धार तथा राहत व्यवस्थापनको लागि तयारी गरेको बताएका छन् ।