प्रस, वीरगंज, ११ असोज/
इलम/हेल्भेटासको आर्थिक सहयोगमा आमा नेपाल फाउन्डेशन तथा वीरगंज नेपाल बिजनेश कन्सल्टेन्सीको संयुक्त आयोजनामा महिला उद्यमशीलता तथा महिला स्वरोजगारको लागि सञ्चालित १५ दिने निश्शुल्क हस्तकला सामग्री उत्पादन तालीम शुक्रवार सम्पन्न भएको छ ।
फाउन्डेशनकी अध्यक्ष प्रमिता मानन्धरले भदौ २७ गतेदेखि सञ्चालित १५ दिने तालीममा सहभागी महिलाहरूलाई मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित फूल, फूलका बुके, फूल राख्ने बास्केट तथा ढक्कीका सामग्रीहरू बनाउन सिकाएको बताइन् । उनले स्थानीय स्रोत साधन तथा खेर गइरहेका वस्तुबाट आर्थिक उपार्जन गर्न महिला स्वरोजगारको लागि फाउन्डेशनको प्रयासमा इलम/हेल्भटासको आर्थिक सहायता रहेको बताइन् ।
समाजसेवी उषा शाहले महिलाहरूले निर्माण गरेका हस्तकला सामग्रीको बजारीकरणको लागि वीरगंज उद्योग वाणिज्य सङ्घले सहयोग गरेर महिला स्वरोजगार कार्यक्रमलाई बढावा दिनुपर्ने धारणा राखिन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले महिला स्वरोजगार विकासको लागि सङ्घ आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । उनले यसबारेमा आवश्यक छलफल गरी बजारीकरणको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । उनले फाउन्डेशनलाई सङ्घबाट आयोजना प्रदशर्नीमा निश्शुल्क स्टलको व्यवस्था गर्ने बताए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो, मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, वीरगंज नेपाल बिजनेश कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुनीलकुमार साहले तालीममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।