नितेश कर्ण, वीरगंज, १० असोज/
सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा पतिले आफ्नै पत्नीको गोली हानी हत्या गरेको छ । धीरेन्द्रराय यादवले २२ वर्षीया पत्नी चित्रलेखा देवी यादवको गएराति पौन दुई बजे गोली हानेर हत्या गरेका हुन् । यादवले पत्नी र पिता रामदिनेश यादवमाथि गोली प्रहार गरेका थिए । पत्नीको कन्चटमा गोली लागेर उनको घटनास्थलमैं मृत्यु भएको थियो भने पिताको पाखुरामा गोली लागेकोले घाइते भएका थिए ।

गोली लागेर चित्रलेखा यादवको घटनास्थलमैं मृत्यु भएको र निजका ५४ वर्षीय ससुरा रामदिनेशराय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

ससुरा रामदिनेश रायको बायाँ हातमा गोली लागेको र उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । गोली हानेर फरार धीरेन्द्रको खोजी कार्य भइरहेको छ ।

हत्या भएकी चित्रलेखाका पति धीरेन्द्र एक महीना अघि मात्र कुवेतबाट घर आएका थिए । उनी घर आएदेखि परिवारका सदस्यहरूसँग झगडा भइरहन्थ्यो र यस क्रममा उनी कुवेतबाट आएको चार/पाँच दिनमैं घर छाडेर हिंडेका थिए । त्यसपछि गएराति उनी २५ दिनपछि साथीसँग मोटरसाइकलमा चढेर आएका र गोली प्रहार गरी फरार भएको बताइन्छ । प्रहरीले भने अहिलेसम्म गोली प्रहार गर्ने चित्रलेखाका पति धीरेन्द्र रहेको आधिकारिक पुष्टि गरिसकेको छैन । प्रवक्ता श्रेष्ठले दुईजना मोटरसाइकलमा आएका र गोली हानेर पुनः मोटरसाइकलमा चढेर फरार भएको बताए । उनले गोली हान्ने व्यक्तिको पहिचान भएको तर पक्राउ नपरुन्जेलसम्म सार्वजनिक गर्न नमिल्ने बताए । प्रहरी चौकी हरिपूर्वाले भने पत्नी चित्रलेखाको हत्या र पिता रामदिनेशमाथि गोली प्रहार धीरेन्द्रले गरेको बताएको छ ।

घटनामा सानो हतियारको प्रयोग भएको, दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here