प्रस, जनकपुरधाम, १० असोज/
सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जनकपुर–जयनगर रेलवेको घाटा न्यूनीकरणका लागि पूर्वाधारको विकास र कार्गो रेल सञ्चालनको तयारीमा सरकार रहेको बताएका छन् ।

मन्त्री दाहालले महोत्तरीको बर्दिबास र धनुषाको कुर्था रेलवे स्टेशनको बिहीवार अनुगमन गरेपछि जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “रेलवे वासिङ सेन्टरको निर्माण लगभग पूरा भएको छ, जसले भारतमा वासिङ गर्न पठाउनुपर्ने कठिनाइलाई समाधान गर्नेछ ।”

मन्त्री दाहालले भारतको अयोध्या–जनकपुर रेलसेवा सञ्चालन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिंदै यसले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई मजबूत बनाउने विश्वास व्यक्त गरे ।

प्रस, महोत्तरी/
मन्त्री दाहालले ‘समृद्ध मधेस’ निर्माणमा सङ्घीय सरकारले प्रभावकारी योजना तयार गरेर कार्यान्वयनको चरणमा पुगेको बताएका छन् ।

प्रेस चौतारी महोत्तरीले बिहीवार लालगढमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री दाहालले समृद्ध मधेसको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । महोत्तरी र धनुषास्थित मन्त्रालय मातहतका आयोजनाको निरीक्षणको क्रममा उनले समृद्ध मधेसले देशको विकासमा महŒवपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री दाहालले पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणका व्यापारिक केन्द्रहरूसँग जोडिएका सडकहरू निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए । उनले बर्दिबास–जयनगर रेलसेवा पनि महŒवाकाङ्क्षी परियोजना भएको भन्दै यसको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।

“जयनगर बर्दिबास रेलसेवाका तीन खण्डमध्ये दुई खण्डमा सेवा सञ्चालन भइरहेको छ,” उनले भने, “भङ्गाहा–बर्दिबास खण्डको काम चाँडै शुरू गर्ने तयारीमा छौं ।” बर्दिबासमा रेलवे स्टेशन निर्माणको लागि आवश्यक जग्गा खाली नगर्दा निर्माणमा ढिलाइ भइरहेको मन्त्री दाहालको भनाइ थियो ।

कमला पुल निर्माणका लागि प्राविधिक पक्षसँग छलफल गरेर काम अघि बढाइने बताउँदै उनले योजनाबद्ध विकास र पूर्वाधार निर्माणमा सङ्घ सरकार दृढ इच्छाशक्तिका साथ लागिपरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here