प्रस, वीरगंज, ९ असोज/
नेपाल पत्रकार महासङ्घको असोज १२ गते हुने भनिएको केन्द्र, प्रदेश र जिल्लाहरूको निर्वाचन फेरि पनि सरेको छ ।

महासचिव रोशन पुरीले बुधवार विज्ञप्ति जारी गर्दै असोज १२ गते तोकिएको निर्वाचन पनि हुन नसक्ने परिस्थिति सिर्जना भएको जानकारी गराएका छन् ।

उनले २७औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थितिपछि २०८१ जेठ २६ गते, असार २२ र असोज ५ गते घोषणा गरिएका तीनवटा निर्वाचन तोकिएको मितिमा हुन नसकेको विषम परिस्थितिमा अध्यक्ष विपुल पोखरेलले गत भदौ २४ गते पदबाट राजीनामा दिएका र उनको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी वहन गरी असोज १२ गतेका लागि निर्वाचन मिति घोषणा गरेकामा उनले पनि अकस्मात् राजीनामा दिएपछि झनै जटिल मोडमा आइपुगेकोले असोज १२ गते तोकिएको निर्वाचन पनि हुन नसक्ने परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

मतदाता नामावलीसम्बन्धी विवाद र मतभेदकै बीचमा महासङ्घका ५३ शाखाका अध्यक्षहरूले विवाद निरूपणका लागि राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएका र सो सन्दर्भमा आज कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको बताएका छन् ।

उनले कार्यवाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले जिल्ला/प्रदेश अध्यक्षहरूको सल्लाह, सुझाव, परामर्शलाई समेत दृष्टिगत गरी महासङ्घको विधान २०६० (पाँचौं संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार यही असोज १९ गतेका दिन जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको बताएका छन् । महासचिव पुरीले भेलाको स्थान यथाशीघ्र जानकारी गराइने बताए ।

यसैगरी, सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७औं महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न पूर्वसभापति डा सुरेश आचार्यको संयोजकत्वमा पूर्वअध्यक्षहरू तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, डा महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरिएको बताए । उनले विज्ञप्तिमार्फत आजको बैठकले अध्यक्ष पोखरेल र कार्यवाहक अध्यक्ष विष्टको राजीनामा अनुमोदन गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here