प्रस, रौतहट, ८ असोज/
प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर विद्यार्थीहरूले मङ्गलवार देवाहीगोनाही नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साहले मनोमानी ढङ्गले प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाउँदै विद्यार्थीहरूले नपा कार्यालयमा तोडफोड गरेका हुन् ।

जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक सञ्जयप्रसाद गुप्तालाई सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गरेकोमा उक्त सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरूले आज देवाहीगोनाही नगर कार्यपालिकाको कार्यालयमा ताला लगाएर विभिन्न नाराहरू लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

अनधिकृतरूपमा प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गरिएको भन्दै विद्यार्थीहरू निकै आक्रोशित हुँदै नगरप्रमुख साहविरुद्ध चर्काे नाराबाजी गरेका थिए । परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । नगरपालिकाअगाडि ठूलो सङ्ख्यामा उपस्थित भएका जनपद र सशस्त्र प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । भीड नियन्त्रण गर्ने क्रममा प्रहरी र विद्यार्थीहरूबीच झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here