प्रस, परवानीपुर, ८ असोज/
गैरसरकारी संस्था आसमान नेपालले पर्सामा सञ्चालन गरेको सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको अनुगमन सम्पन्न भएको छ ।
आसमान नेपालको अनुगमन समितिले पर्सा जिल्लाको वीरगंज र पकाहामैनपुर गाउँपालिकामा अनुगमन शुरू गरेको छ । गत अप्रिलदेखि अर्थात् छ महीनादेखि वीरगंज महानगरपालिका–२७ उदयपुर घुर्मी, २८ बगही, २९ बसडिलवा, ३१ बेलवा र पकाहामैनपुर गापाका पाँचवटा वडामा सञ्चालनमा रहेको यो कार्यक्रमको अवस्थाका बारेमा अनुगमनकर्ताहरूले जानकारी लिएका छन् ।
सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसाबारे जनचेतना जगाउने, लैङ्गिक हिंसा न्यूनीकरणमा भएका प्रयास, लैङ्गिक हिंसामा परेकालाई सम्बन्धित निकायमा रेफर, पीडितलाई सहयोग एवं आश्रय, पीडितलाई न्याय दिलाउने पक्षमा गरिएको वकालतलगायत विविध पक्षको बारेमा जानकारी लिएको छ ।
पकाहामैनपुरमा अनुगमन टोलीले पारिवारिक संवाद कार्यक्रम आयोजना गरी सो गापाको लैङ्गिक हिंसासम्बन्धी जानकारी एवं कार्यक्रमको उपलब्धिबारे छलफल गरेको थियो भने वीरगंज महानगरपालिकाका वडाहरूको सहभागीहरूलाई नारायणी अस्पताल वीरगंजमा छलफल कार्यक्रम राख्दै कार्यक्रमको सकारात्मक पक्षका बारेमा जानकारी लिएको थियो ।
नारायणी अस्पतालको छलफल कार्यक्रममा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)की फोकल पर्सन एवं नारायणी अस्पतालकी नर्स हेमा थापा, माइती नेपालकी शाखा अधिकृत गोमा पौडेलले लैङ्गिक हिंसाका कारण र घटनाहरू, चेलीबेटी बेचबिखन, रोकथामका लागि गरिएका प्रयास एवं लैङ्गिक हिंसा न्यूनीकरणका प्रयासबारे छुट्टाछुट्टै प्रस्तुतिबाट जानकारी गराएका थिए ।
आसमान नेपाल सञ्चालक समितिका अध्यक्ष रामप्रवेश यादवको अध्यक्षता एवं आसमान नेपालकी ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमकी पर्सा संयोजक ममता ओझाको सहजीकरणमा भएको कार्यक्रममा महिला, बालबालिका तथा सामाजिक न्यायिक समिति मधेस प्रदेशकी सदस्य एवं एमाले प्रदेश सांसद वीणा शर्माको प्रमुख आतिथ्य रहेको थियो भने अनुगमन कार्यक्रमको समापन समारोहमा खेलकूद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशकी शाखा अधिकृत निशा कर्ण, कार्यक्रम प्रबन्धक सावनकुमार यादव, प्रादेशिक संयोजक किरण यादव, आसमान नेपालका पर्सा फोकल पर्सन धर्मेन्द्र चौरसिया, दातृ संस्था जुरी नेपालका विष्णु पौडेल, युएनएफएका सुजाता सुब्बालगायतको सहभागिता थियो । यो कार्यक्रम पर्सामा तीन वर्षको लागि सञ्चालनमा छ ।
आसमाान नेपालले पर्सा जिल्लामा यो कार्यक्रम सँगसँगै सिकाइलाई निरन्तर गरौं, बालिकालाई पछाडि नगरौं, युएसएआइडी समतामूलक तथा समावेशी शिक्ष्Fा, कक्ष्Fा शिक्ष्Fण सिकाइ कार्यक्रम गरी चार प्रकारको कार्यक्रम विभिन्न पालिकाहरूमा गरिरहेको छ ।